मन्त्री होइन, छिमेकीजस्तै: गुरुङ नागरिकको ढोकैमा
मन्त्री होइन, छिमेकीजस्तै: गुरुङ नागरिकको ढोकैमा
गुरुङ नागरिकको ढोकैमा
काठमाडौं — गृहमन्त्री सुधन गुरुङले नागरिकका समस्या र गुनासा प्रत्यक्ष सुन्ने कार्यक्रम अघि बढाएका छन्। मन्त्रालयको कार्यकक्षमा मात्र सीमित नरही सोझै जनतासमक्ष पुगेर समस्या बुझ्ने उनको यो पहललाई स्थानीयस्तरमा सकारात्मक रूपमा लिइएको छ।
गृहमन्त्री गुरुङ यतिबेला आफ्नो निर्वाचन क्षेत्र गोरखा–१ का नागरिकका घरदैलोमा पुगेर स्थानीयस्तरमा भइरहेका विकास गतिविधि, सार्वजनिक सेवा प्रवाह लगायतका विषयमा छलफल गरिरहेका छन्। शुक्रबार गोरखा आइपुगेका गुरुङले विकास आयोजनाको अनुगमनसहित जिल्लाको सुरक्षा अवस्थाबारे समेत जानकारी लिएका छन्। स्थानीय बासिन्दासँगको प्रत्यक्ष भेटघाटका क्रममा उनले सडक, खानेपानी, विद्युत् जस्ता आधारभूत सेवा–सुविधाको अवस्था र स्थानीय सुरक्षा परिस्थितिबारे पनि जानकारी लिएका छन्।
यसअघि पनि गृहमन्त्री गुरुङले कोशी प्रदेशको सुरक्षा अवस्थाको स्थलगत अनुगमन गर्ने क्रममा इटहरीमा सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका गुनासा सुनेका थिए। मन्त्रालयको जिम्मेवारी सम्हालेयता उनले विभिन्न प्रदेश तथा जिल्लामा गई स्थानीयस्तरमा सुरक्षा निकायको सक्रियता र सेवा प्रवाहको अवस्था प्रत्यक्ष नियाल्ने गरेको देखिन्छ।
स्थानीयवासीसँगको भेटघाटका क्रममा उनले नागरिकले भोग्दै आएका समस्या पहिचान गरी सम्बन्धित निकायमार्फत यथाशक्य छिटो समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। शान्ति सुव्यवस्था कायम राख्दै राज्यका सेवासुविधा छिटो, छरितो र पारदर्शी ढंगले नागरिकसम्म पुर्याउने गुरुङले प्रतिबद्धता जनाएका छन्। उनले सुरक्षा निकायका कर्मचारीलाई पनि नागरिकमैत्री व्यवहार अपनाई सेवा प्रवाहमा थप सक्रिय हुन निर्देशन दिएको जनाइएको छ।
गृहमन्त्री गुरुङ आइतबारसम्म आफ्नो निर्वाचन क्षेत्रमा रहने जनाइएको छ। यस अवधिमा उनी थप स्थानीय तहहरूमा पुगी विकास आयोजनाको अनुगमन तथा नागरिकसँगको अन्तरक्रिया जारी राख्ने कार्यक्रम रहेको बताइएको छ।
