पाठ्यक्रममा विपद् व्यवस्थापन समावेश गरिने: शिक्षामन्त्री पोखरेल
पाठ्यक्रममा विपद् व्यवस्थापन समावेश गरिने: शिक्षामन्त्री पोखरेल
जापानी राजदूतसँग भेटवार्ता, शिक्षा र विपद् व्यवस्थापनमा सहकार्य बढाउन छलफल
काठमाडौँ, १८ कात्तिक। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपालका लागि जापानी राजदूत माएदा तोरुसँग शिष्टाचार भेटवार्ता गरेका छन्। भेटमा दुई देशबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, शिक्षा तथा खेलकुद क्षेत्रको सहकार्यको समीक्षा र आगामी रणनीतिबारे छलफल भयो।
राजदूत तोरुले हालै भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको क्षतिप्रति समवेदना व्यक्त गरे। उनले जापान सरकारले आपत्कालीन अनुदान सहयोग (Emergency Grant Support) उपलब्ध गराएको जानकारी पनि दिए। मन्त्री पोखरेलले नेपालको शैक्षिक र भौतिक पूर्वाधार विकासमा जापानले निरन्तर सहयोग गर्दै आएकामा धन्यवाद दिए।
छलफलका क्रममा राजदूत तोरुले जापानको अनुभवका आधारमा विद्यालय पाठ्यक्रममै विपद् व्यवस्थापन र सुरक्षासम्बन्धी विषय समावेश गर्न सुझाव दिए। मन्त्री पोखरेलले राष्ट्रिय पाठ्यक्रमको प्रारूप हाल परिमार्जन भइरहेको जनाउँदै त्यसमा विपद् व्यवस्थापन र शिक्षकको पेसागत विकाससम्बन्धी विषय समावेश गरिने बताए।
शिक्षा क्षेत्रको सुधारका लागि दीर्घकालीन दृष्टिकोण आवश्यक रहेकामा मन्त्री पोखरेलले जोड दिए। दुवै पक्षले आगामी दिनमा थप छलफल र उच्चस्तरीय भ्रमणमार्फत सहकार्य अझ बलियो बनाउने विषयमा विचार आदानप्रदान गरेका थिए।
