माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट
माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट
काठमाडौं । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेतामा खगराज भट्ट चयन भएका छन्। उनी आइतबार सर्वसम्मत दलको नेता चयन भएका हुन्।
दलको नेताका लागि ओमप्रकाश भाट ‘सरल’ पनि आकांक्षी थिए। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा माओवादी केन्द्रका ११ सांसद छन्।
भट्ट प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराबाट प्रदेशसभामा निर्वाचित भएका हुन्। विगतका निर्वाचनमा देउवासँगै प्रतिनिधिसभामा लड्दै आएका भट्ट यसपालि भने कांग्रेससँग गठबन्धन गरेर प्रदेशमा झरेका थिए। उनी देउवासँग तीनपटक हारे।
पहिलो संविधानसभा निर्वाचनमा देउवासँग उनी केवल १ हजार ३६८ मतान्तरले हारेका थिए। देउवाले २० हजार ५२९ मत ल्याउँदा खगराजले १९ हजार १६१ मत ल्याएका थिए। झिनो मतान्तरले हारेका खगराजले दोस्रो संविधानसभाको निर्वाचनमा पनि देउवासँग नै प्रतिस्पर्धामा उत्रिने निर्णय गरे। तर, मतान्तर फराकिलो भयो। त्यतिबेला देउवाले २३ हजार ९२० मत ल्याउँदा खगराजले १२ हजार ४९३ मत मात्रै ल्याए। २०७४ को चुनावमा वाम गठबन्धन हुँदा पनि खगराजलाई देउवाले ६ हजार ९२९ मत अन्तरले पछाडि पारे।
यसरी देउवासँग तीनपटक हारेका खगराज देउवाकै पार्टीको सहयोगमा प्रदेश सांसद बने। डडेलधुरामा आयोजित चुनावी सभामा भाषण गर्ने क्रममा देउवाले खगराजलाई सुदूरपश्चिमको मुख्यमन्त्री बनाइने बताएका थिए। माओवादी त्यतिखेर कांग्रेससँगको गठबनधनमा थियो, अहिले छुट्टिएर एमालेसँग मिल्न पुगेको छ। कांग्रेसको समर्थनमा सांसद भएका खगराज एमालेको समर्थनमा मुख्यमन्त्री हुने सम्भावना बढेको छ।