चाडपर्वमा यात्रु सुरक्षा र ठगी नियन्त्रणका लागि उपत्यकामा ट्राफिक प्रहरीको विशेष अभियान
चाडपर्वमा यात्रु सुरक्षा र ठगी नियन्त्रणका लागि उपत्यकामा ट्राफिक प्रहरीको विशेष अभियान
बसपार्क, चाबहिल, कलङ्कीलगायत १० स्थानमा यात्रु सहायता कक्ष राखिने, ब्रेथलाइजर जाँच कडा पारिने
काठमाडौं। दसैं–तिहारजस्ता चाडपर्वमा यात्रुको सुरक्षा गर्न, सवारी दुर्घटना घटाउन र यात्रु ठगी रोक्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष अभियान चलाउने भएको छ। चाडपर्व नजिकिँदै गर्दा देशभर यात्रुको आवागमन बढ्ने भएकाले सुरक्षित र सहज यात्रा सुनिश्चित गर्न कार्यालयले तयारी थालेको हो।
उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार यस्तो समयमा अनधिकृत व्यक्तिले टिकट बेच्ने, तोकिएभन्दा बढी भाडा असुल्ने, सिट क्षमताभन्दा बढी टिकट बेच्ने र एउटै सिटको टिकट धेरै जनालाई बेच्ने समस्या देखिन सक्छ। त्यसलाई नियन्त्रण गर्न अभियान सञ्चालन गरिने उनले बताए। चाडपर्वमा तीव्र गति, क्षमताभन्दा बढी यात्रु र सामान बोक्ने प्रवृत्ति र सडकमा सवारीबीचको अस्वस्थ प्रतिस्पर्धाले दुर्घटना निम्त्याउने भएकाले ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिइने उनको भनाइ छ।
कार्यालयका अनुसार यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै उपत्यकाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष राखेर संयुक्त रूपमा विशेष चेकजाँच र अनुगमन गरिनेछ। ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेन्द्रराज सुवेदीले बसपार्क, चाबहिल, कोटेश्वर, चापागाउँ, बल्खु, पुल्चोक, नागढुङ्गा, कलङ्की, भीमढुङ्गा र साँखुलगायतका मुख्य स्थानमा यस्ता कक्ष स्थापना गरिने जानकारी दिए।
अभियानमा सवारीसाधनको यान्त्रिक अवस्था र प्रदूषण जाँच गरिनेछ। लामो दूरीका सवारीमा दुई चालक अनिवार्य राख्नुपर्ने कानुनी व्यवस्थालाई पनि कडाइका साथ लागू गरिनेछ। मादक पदार्थ सेवन गरेर सवारी चलाउने प्रवृत्ति रोक्न ब्रेथलाइजर मेसिनबाट हुने जाँच र अनुगमन तीव्र बनाइनेछ। दिउँसो र राति दुवै समय सडकमा ट्राफिक प्रहरीको उपस्थिति बढाइनेछ। चाडपर्वमा मठमन्दिरमा दर्शनार्थीको भिड बढ्ने भएकाले ती ठाउँमा पार्किङ व्यवस्थापनका लागि पनि ट्राफिक प्रहरी खटाइनेछ।
अभियानलाई प्रभावकारी बनाउन सिभिल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग, सडक विभाग र महानगर प्रहरीबीच समन्वय गरी एकीकृत रूपमा परिचालन गर्ने व्यवस्था मिलाइने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
