images

May 17 2024 | २०८१, जेठ ४ गते

बजारमा प्याजकाे हाहाकार !

बजारमा प्याजकाे हाहाकार !

सबैजसो प्याज भारतबाट आउथ्याे, भारत सरकारले ४० % भन्सार शुल्क बढाएपछि अहिले आउनै छोड्याे

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ ८ २०८०
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ ८ २०८०
  • बजारमा प्याजकाे हाहाकार !

    भारतले प्याजमा भन्सार शुल्क बढाएपछि नेपाली बजारमा यसको अभाव देखिन थालेको छ। काठमाडौंको मुख्य बजारमध्ये एक कालीमाटी फलफूल तथा तरकारी बजारमा व्यापारीले दुई दिनदेखि प्याज ल्याएका छैनन्। 

    images
    images

    कालीमाटी बजारमा दैनिक एक सय मेट्रिकटनसम्म प्याज आउने गरेकामा पछिल्ला दिनमा कत्ति पनि प्याज नआएको सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए।

    'दैनिक औसत ९० देखि सय मेट्रिनटनसम्म प्याज आउनेगरेकामा केही दिनदेखि ठप्प छ। गत आइतबार ४७ मेट्रिकटन आएको र भएको मौज्दातसकिए पछि अहिले कालीमाटी तरकारी बजारमा प्याज छैन,' उनले भने। यहाँ आउने सबैजसो प्याज भारतबाट आयात हुने गरेकामा भारत सरकारले गत शनिबारदेखि ४० प्रतिशत भन्सार शुल्क बढाएपछि अहिले आउन छोडेको सूचना अधिकारी श्रेष्ठको भनाइ छ। 

    बेच्नका लागि नै नभएपछि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दैनिक मूल्यसूची तालिकाबाटै प्याजलाई हटाएको छ। 'भएको मौज्दात सकियो। व्यापारीले ल्याउने कुरा हो। उतै (भारत) बाट पठाएका छैनन् भन्ने सुनेको छ,' उनले भने, 'बेच्नलाई प्याज नै नभएपछि मूल्यसूचीमा नराखिएको हो।'

    भारतबाट व्यापारीले प्याज नल्याएपछि एकातिर बजारमा यसको अभाव देखिएको छ भने अर्कोतिर कालोबजारी र मूल्यवृद्धिसमेत देखिएको छ। प्रतिकिलो ६०/७० रुपैयाँमा प्याज किन्दै आएका उपभोक्ता अहिले १०० रुपैयाँ वा त्योभन्दा बढीमा किन्नु परिरहेको गुनासो गर्छन्।

    पछिल्लो दुई दिनमा मात्र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ तरकारी व्यापारीलाई कारबाही गरेको छ भने थप केही व्यापारी माथि अनुसन्धान चलिरहेको छ। 

    कालोबजारी र मूल्यवृद्धि भएको गुनासो उपभोक्ताबाट आएपछि विभागले प्याजलक्षित बजार अनुगमन थालेको हो। विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरले पछिल्लो तीन दिनदेखि प्याजको बजारमूल्य केन्द्रित अनुगमन भइरहेको बताए। 'हामीले उपत्यकामा सबैतिर पुगेर अनुगमन गरिरहेका छौं। आज पनि कीर्तिपुर, चोभार, बनेपालगायत क्षेत्रमा अनुगमन भइरहेको छ,' उनले भने। 

    भारतले प्याज निर्यातमा कडाइ गर्दै भन्सार कर बढाउनु अगावै नेपाल भित्रिसकेको र मौज्दात रहेको प्याजमासमेत चर्को मूल्यवृद्धि र कालोबजारी भइरहेको विभागले जनाएको छ। कालीमाटी फलफूल तथा तरकारी बजारमा गत आइतबार प्रतिकिलो रू ६० का दरले बिक्री भइरहेको प्याज सोमबार प्रतिकिलो रू २० सम्म बढेर रू ८० पुगेको थियो तर विभागले अनुगमन गरेपछि कालीमाटी तरकारी बजारमा प्याजको मूल्य प्रतिकिलो रू १० सम्मले घटे पनि सोमबारयता भने त्यहाँ प्याज कारोबार भएको छैन। 

    भारतको वित्त मन्त्रालयले शनिबार प्याजको निर्यातमा ४० प्रतिशतसम्म भन्सार कर बढाउने निर्णय गरेको थियो। त्यहाँको आन्तरिक बजारमा प्याजको मूल्य बढेपछि भन्सार कर बढाइएको उक्त मन्त्रालयले जनाएको थियो। आगामी डिसेम्बर ३१ सम्म यस्तो कर लाग्ने छ।
     
    यसअघि भारतले बास्मतीबाहेक अन्य चामल निर्यातमा बन्देज लगाएकाले नेपाली बजारमा चामलमा पनि कालोबजारी बढेको थियो।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार