एक पक्षले बोलायो, अर्कोले खण्डन गर्यो: एनआरएनए अमेरिकामा मन्त्री भ्रमण विवाद
एक पक्षले बोलायो, अर्कोले खण्डन गर्यो: एनआरएनए अमेरिकामा मन्त्री भ्रमण विवाद
काठमाडौँ- एउटा गैरआवासीय नेपाली संघ (एनआरएनए अमेरिका) को निम्तोमा अमेरिका जान लागेका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई अर्कोले निम्तो नगरेको भन्दै विज्ञप्ति निकालेपछि विवाद उत्पन्न भएको छ।
विकास उप्रेती अध्यक्ष रहेको (एनआरएनए)अमेरिकाको निमन्त्रणामा मन्त्री गुप्ता आगामी माघ ३ गते अमेरिका जाने तयारीमा छन्। तर अर्को (एनआरएनए) अमेरिकाको नामबाट मन्त्री गुप्तालाई अमेरिका बोलाउने कुनै कार्यक्रम नरहेको भनेर बिहीबार विज्ञप्ति आएपछि यो विषय थप विवादित बनेको हो।
मन्त्री गुप्तालाई अमेरिका बोलाउने र उनलाई बोलाइएको छैन भनेर विज्ञप्ति निकाल्ने एनआरएनए फरक फरक हुन्।
सतेन्द्र शाह अध्यक्ष रहेको एनआरएनएले मन्त्री गुप्तालाई अमेरिका बोलाइएको छैन भनेर विज्ञप्ति निकालेको हो। त्यसमा सन्देश उप्रेती प्रवक्ता छन्।
मन्त्री गुप्तालाई निम्तो दिने विकास उप्रेती नेतृत्वको एनआरएनए हो। संस्थाको युवा विभागले कार्यक्रम आयोजना गर्न लागेको उप्रेतीले जानकारी दिए।
यो कार्यक्रम हाम्रो युवा विभागले टेक्सासको डलासमा आयोजना गर्न लागेको हो,'उप्रेतीले भने, 'जेनजी आन्दोलनपछि युवाहरूको भूमिकाबारे युवा सम्मेलन गर्न लागिएको हो।'
सतेन्द्र शाह नेतृत्वको एनआरएनएले बिहीबार विज्ञप्ति निकालेपछि हामीले मन्त्री गुप्तालाई बोलाइएको हो कि होइन भनेर विकास उप्रेतीसँग पुनः पुष्टि गरे
यत्रो आन्दोलनपछि बनेको नागरिक सरकारमा युवा मन्त्री हुनुहुन्छ। युवासम्बन्धी कार्यक्रम भएकाले उहाँलाई बोलाउन उचित ठानेका हौं। हाम्रो तर्फबाट उहाँलाई निमन्त्रणा यथावत नै छ,' उनले भने।
गत मंसिर १४ गते एनआरएनएबीच एकता भएको थियो। त्यसअघि बद्री केसी र महेश श्रेष्ठ नेतृत्वमा दुइटा एनआरएनए थियो।
मंसिरमा एकता भए पनि सबै देशहरूको कार्यसमिति 'मर्जु भइसकेको छैन।
एनआरएनए अमेरिकाको एउटा समूहको अध्यक्षमा सतेन्द्र शाह र अर्को समूहका अध्यक्ष विकास उप्रेती छन्।
उप्रेती बद्री केसी र शाह महेश श्रेष्ठ पक्षका एनआरएनए अमेरिकाका अध्यक्ष हुन्।
केसी र श्रेष्ठ नेतृत्वको एनआरएनए एकता हुँदै गर्दा दुवै कार्यसमितिलाई एकता गरेर स्टेरिङ कमिटी बनाउने भनिएको थियो।
स्टेरिङ कमिटी बन्ने क्रममै रहेकाले अहिले दुवै कार्यसमिति सक्रिय छन्। खेलकुद मन्त्रीलाई बोलाउने निर्णय एउटा समिति र बोलाइएको छैन भनेर खण्डन गर्ने अर्को समिति रहेको खुलेको हो।

