Aug 12 2026 | २०८३, साउन २७ गते

रास्वपा–उज्यालो नेपाल पार्टी एकतामा सैद्धान्तिक अड्चन, सहमति कार्यान्वयनमा ढिलाइ

रास्वपा–उज्यालो नेपाल पार्टी एकतामा सैद्धान्तिक अड्चन, सहमति कार्यान्वयनमा ढिलाइ

एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस २५ २०८२
एभरेष्ट हेडलाइन्स
शुक्रबार, पुस २५ २०८२
  • रास्वपा–उज्यालो नेपाल पार्टी एकतामा सैद्धान्तिक अड्चन, सहमति कार्यान्वयनमा ढिलाइ

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी (उनेपा) बिच पुस १४ गते एकता गर्ने सहमति भयो । तर, सहमति अनुसार रास्वपा कार्यान्वयनको पक्षमा नउभिँदा दुई पार्टीबिचको एकताले पूर्णता पाउन ढिलाइ भएको छ ।

    images

    मन्त्री पदबाट राजीनामा दिएसँगै कुलमानले यसबारेमा रास्वपा सभापति रवि लामिछानेसँग छलफल गरेका छन् । घिसिङले शुक्रबार बिहान सभापति रवि लामिछानेलाई भेटेर पूर्व प्रतिबद्धताका बारेमा चासो राखेको बुझिएको छ ।

    स्रोतका अनुसार दुई नेताबिच सभापति रवि लामिछानेको निवास बुढानीलकण्ठमा ‘वान टु वान’ कुराकानी भएको हो । भेटवार्तामा रास्वपामा उज्यालो नेपाल पार्टीको समायोजनका साथै समग्र विषयमा छलफल भएपनि सहमति जुट्न नसकेको कुलमानका सहोदर दाइ समेत रहेका साबिकको उज्यालो पार्टीको नेता गणेश घिसिङले  बताए ।
    नमिलेको विषय भनेको संघीयता, धर्मनिरपेक्षता र समावेशिताको सैद्धान्तिक मुद्दा हो । यो मुद्दामा लिखित सहमति हुनुपर्छ भन्ने हाम्रो अडान छ’, उनले भने, ‘अहिलेसम्म यसबारे एकमत हुन सकेको छैन ।’


    कुलमान पक्षले उठाएका ती मुद्दामा रवि लामिछानेले मौखिक सहमति जनाएपनि लिखित सम्झौतामा हस्ताक्षर गर्न आनाकानी गरिरहेका छन् । ‘उहाँहरूले ती मुद्दामा अझै प्रस्ट भन्नु भएको छैन । त्यसबारेमा छलफल जारी नै छ । पहिला सहमत भनियो तर नीतिगत कुरामा सहमति गर्ने भनिएको हो तर उताबाट हस्ताक्षर गर्न मानेको अवस्था छैन’, उनेपा निकट अर्को स्रोतले भन्यो, ‘संविधान मान्ने, चुनाव मान्ने अनि त्यो कुरा नमान्ने भन्ने त हुँदैन ।’


    शुक्रबारको भेटमा पनि लामिछाने र घिसिङबिच यही विषयमा कुराकानी भएको थियो । कुलमान निकट स्रोतले भन्यो, ‘हामीले सुरुबाटै सम्मानजनक एकता भन्दै आएका हौ ।’

    कुलमान उज्यालो नेपाल पार्टीका संरक्षक हुन् भने अध्यक्ष अनुप उपाध्याय हुन् ।  

    एकतापछि उज्यालो नेपाल पक्षधरले रास्वपा केन्द्रीय समितिमा सम्मानजनक हिस्सेदारी, समानुपातिक सूची संशोधन तथा प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारीका विषयमा प्याकेजमा सहमति हुनुपर्ने अडान राख्दै आएको छ ।

    यसअघि दुई पार्टीबिच भएको सहमतिमा उज्यालो पार्टीले रास्वपामा कुलमानलाई दोस्रो वरियताको उपसभापति सहित सहमहामन्त्री र सहप्रवक्ता दिने सहमति भएपनि केन्द्रीय सदस्यमा उज्यालो पार्टीबाट कति जना पाउने भन्ने विषयमा सहमति हुन बाँकी नै छ ।

    पुस १४ गते उनेपासँग एकताको सहमति गर्नुअघि रास्वपाले काठमाडौँ महानगरका मेयर बालेन शाहसँग सहमति गरेको थियो ।  सहमति अनुसार रास्वपाको केन्द्रीय समितिमा बालेनको तर्फबाट २६ सदस्य थपिएका छन् । तर उज्यालोको तर्फबाट अहिलेसम्म कमिटीमा कुनै नेता समेटिएका छैनन् । कति केन्द्रीय सदस्य उज्यालोलाई दिने भन्नेमै कुरा अहिलेसम्म नमिलिरहेको स्रोतको दाबी छ ।

    उज्यालोले समानुपातिकको बन्द सूचीमा पठाएका १८ जनाकै नाम राख्नु पर्ने र उज्यालाका केही नामलाई प्राथमिकता क्रममा माथि तान्नुपर्ने माग पनि राख्दै आएको छ तर यो विषयमा रास्वपा पक्षले अस्वीकार गर्दै आएको कुलमान पक्षको रहेको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट