Aug 12 2026 | २०८३, साउन २७ गते

स्वाभाविक मागले कांग्रेस वार्ता अल्झियो, बालुवाटारमा चार घण्टादेखि छलफल

स्वाभाविक मागले कांग्रेस वार्ता अल्झियो, बालुवाटारमा चार घण्टादेखि छलफल

एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस २९ २०८२
एभरेष्ट हेडलाइन्स
मंगलबार, पुस २९ २०८२
  • स्वाभाविक मागले कांग्रेस वार्ता अल्झियो, बालुवाटारमा चार घण्टादेखि छलफल

    काठमाडौँ । नेपाली कांग्रेसभित्रको किचलो मिलाउन विशेष महाधिवेशन पक्षधर र सभापति शेरबहादुर देउवा पक्षबिच बालुवाटारमा चार घण्टादेखि वार्ता जारी छ ।

    images


    विशेष महाधिवेशन पक्षधरका नेता प्रदीप पौडेलले बालुवाटारमा दुई पक्षबिच छलफल जारी रहेको बताए । ‘अहिले पनि वार्ता जारी छ, सहमति खोज्ने र मिलाउने प्रयासमा दुवै पक्ष लागिरहेका छौ’, पौडेलले वार्तास्थलबाट बताए ।

    विशेष महाधिवेशन पक्षधर र देउवा पक्षका आ-आफ्नै तयारीले पार्टी विभाजनको दिशामा अघि बढेपछि विवाद समाधानको लागि भन्दै विशेष महाधिवेशन पक्षधर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र देउवा पक्षले वार्ता समिति बनाएका थिए ।

    विशेष महाधिवेशन पक्षधरबाट वार्तामा केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल र मधु आचार्य तथा नेता गुरुराज घिमिरे र देवराज चालिसे छन् ।
    देउवा र शेखर कोइरालाका समेतको तर्फबाट बालकृष्ण खाण, रमेश लेखक, सहमहामन्त्री जीवन परियार र नेता डाक्टर मिनेन्द्र रिजाल वार्ता समितिमा रहेका छन् । 

    स्रोतका अनुसार वार्तामा विशेष महाधिवेशन पक्षधरले अस्वाभाविक माग राख्दा सहमति जुट्न कठिन भइरहेको छ ।

    ‘चुनावको टिकटमा पुर्णबहादुरको हस्ताक्षर हुनुपर्ने, विशेष महाधिवेशनको पूर्ण स्वामित्व पार्टीले लिनुपर्ने, महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले पेस गरेका पार्टी पुनरसंरचना सम्बन्धी प्रस्ताव स्वीकार गर्नुपर्ने प्रस्ताव उहाँहरूले ल्याउनुभएको छ’, देउवा पक्षबाट वार्तामा खटिएका एक नेताले भने, ‘त्यसबाहेक गुटगत ४० प्रतिशत भागबण्डा पनि दिनुपर्ने र देउवा सभापतिबाट हट्नुपर्ने प्रस्ताव आएका छन् जसले वार्ता लम्बिइरहेको छ ।’

    विशेष महाधिवेशन पक्षधरको प्रस्ताव सबै पूरा गर्न नसकिने देउवा पक्षले अडान लिएको छ ।

    ‘हामीले मिलाएर जाऔं भनेका छौँ, सबै माग पूरा हुन पनि सक्दैनन् । सहमतिका लागि ‘गिभ एण्ड टेक’ को मोडालिटी अपनाउनुपर्छ भन्ने छ’, देउवा पक्षका एक नेताले  बताए ।

    भृकुटीमण्डपमा विशेष महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्दसत्र जारी छ भने देउवा पक्षले दिउँसो १ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट