रास्वपाको प्रदेश अधिवेशन सुरू, नेतृत्वमा प्रतिस्पर्धा हुने
रास्वपाको प्रदेश अधिवेशन सुरू, नेतृत्वमा प्रतिस्पर्धा हुने
काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रदेश अधिवेशन मंगलबारदेखि सुरू भएको छ। बागमती प्रदेश अधिवेशन हेटौंडामा आयोजना हुँदैछ।
बागमती प्रदेश अधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछानेले गर्ने प्रदेश सभापति अच्युतम लामिछानेले जानकारी दिए।
लामिछानेका अनुसार प्रदेश अधिवेशनमा एक हजारभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन्।
'पहिलो अधिवेशन भएकाले छुट्टै उत्साह छ। तयारी अन्तिम चरणमा पुर्याएका छौं,' उनले भने, 'प्रतिनिधिका रूपमा एक हजार जनाभन्दा बढी सहभागी हुने अनुमान छ।'
उनले प्रदेश अधिवेशनमा नेतृत्व चयन सर्वसम्मत हुने सम्भावना न्यून रहेको बताउँदै आफू पुनः नेतृत्वमा रहन चाहेको पनि स्पष्ट पारे।
'प्रदेशको नेतृत्व चयन सर्वसम्मत हुने सम्भावना कम छ। प्रतिस्पर्धा नै हुने देखिएको छ,' उनले भने, 'प्रतिस्पर्धामा को–को आउनुहुन्छ, प्रक्रियामा गएपछि थाहा होला।'
एक नेताका अनुसार प्रदेशको आगामी नेतृत्वका लागि हाल प्रदेश प्रवक्ता रहेका उत्सव अर्यालले पनि चासो देखाएका छन्। मकवानपुरका नेताहरूले उनलाई महामन्त्री बनाएर सर्वसम्मत गर्ने प्रयास गरिरहेको बताइएको छ।
यस्तै, प्रदेशको नेतृत्वका लागि डा. रमेश ढकाल पनि इच्छुक छन्। हाल स्वास्थ्य विभाग प्रमुख रहेका ढकाल शंकरापुर अस्पतालका सञ्चालक हुन्। पूर्व एमाले पृष्ठभूमिका उनलाई उपसभापति पदमा समावेश गर्ने तयारी भइरहेको नेताहरूले जानकारी दिएका छन्। त्यसैगरी महामन्त्री पदका लागि दिनेश भट्ट पनि आकांक्षी रहेको बताइएको छ।
