सार्वजनिक खरिद ऐनको जटिलता हटाउन अध्यादेश ल्याइएको: मन्त्री गौतम
सार्वजनिक खरिद ऐनको जटिलता हटाउन अध्यादेश ल्याइएको: मन्त्री गौतम
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल हटाउनका लागि सोही ऐनसम्बन्धी अध्यादेश ल्याउनुपरेको बताएकी छिन्।
शुक्रबार प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद खडकबहादुर विश्वकर्माले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ लाई अस्वीकार गरिनुपर्ने भनी राखेको प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गौतमले उक्त स्पष्टीकरण दिएकी हुन्। उनले भनिन्, 'संसद् अधिवेशन बन्द भयो। सार्वजनिक खरिद ऐनले जहिले पनि अप्ठ्यारो पारिरहेको कुरा यही संसद्मा धेरै पटक उठिसकेको हो। सरकार जुन गतिमा अघि बढिरहेको छ, त्यसैअनुरूप तत्काल सम्बोधन गर्नुपर्ने आवश्यकता देखिएकाले अध्यादेश ल्याएर खरिदसम्बन्धी व्यवस्थालाई संशोधन गरिएको हो। अब प्रतिस्थापन विधेयक ल्याउँदा थप मिलाउने ठाउँहरू पनि हुनेछन्।'
सांसदहरूले समेत लामो समयदेखि प्रश्न उठाउँदै आएको यो विधेयकलाई संशोधन गरेर सरकारले जनताको चर्को समस्या समाधानको कार्यलाई सहज बनाएको दाबी मन्त्री गौतमको थियो। साथै, सरकार जनताका समस्या समाधानका लागि गतिका साथ अघि बढिरहेको पनि उनले बताइन्।
