मतदान ढिलो हुनु पार्टीको दोष होइन, निर्वाचन आयोगको कमजोरी : सांसद आशिका तामाङ
मतदान ढिलो हुनु पार्टीको दोष होइन, निर्वाचन आयोगको कमजोरी : सांसद आशिका तामाङ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की प्रतिनिधि सभा सदस्य आशिका तामाङले पार्टीको चलिरहेको महाधिवेशनमा मतदान ढिला हुनुको कारण पार्टी नभई निर्वाचन आयोग रहेको प्रतिक्रिया दिएकी छन्।
निर्वाचन आयोगले वर्षौंदेखि विभिन्न पार्टीका महाधिवेशन सञ्चालन गर्दै आएको उल्लेख गर्दै महाधिवेशनस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले भनिन्, "यो हाम्रो पार्टीको समस्या होइन। निर्वाचन आयोग, जसले यो सबै परिचालन गर्नुहुन्छ, उहाँहरूकै समस्या हो। उहाँहरूले धेरै वर्षदेखि कांग्रेस, एमाले र माओवादीसम्मका महाधिवेशन सम्पन्न गराइसक्नु भएको हो। यत्रो ठूलो महाधिवेशनमा पनि यस्तो त्रुटि देखिँदा सबैभन्दा बढी सास्ती जनताले नै भोगे। कति समयमा मतदान सकिन्छ भनेर पहिल्यै जानकारी दिनुपर्ने होइन र?"
चितवनको भरतपुरमा रास्वपाको पहिलो महाधिवेशन चलिरहेको छ, जहाँ ९९ केन्द्रीय सदस्य पदका लागि मतदान भइरहेको छ।
तामाङ धादिङ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन्। रास्वपाले आफ्ना १८२ सांसदलाई महाधिवेशन प्रतिनिधि तोकेको थियो, जसअन्तर्गत आशिका पनि प्रतिनिधिका रूपमा सहभागी छिन्।
सामान्यतया पार्टीहरूले आफ्नो विधानअनुसार महाधिवेशन सञ्चालनका लागि आफ्नै संरचनाभित्र निर्वाचन समिति वा आयोग गठन गर्ने गर्छन्। रास्वपाको हकमा यो जिम्मेवारी भुवन केसी नेतृत्वको पार्टी निर्वाचन आयोगलाई दिइएको छ, जसकै सञ्चालनमा हाल ९९ केन्द्रीय सदस्यका लागि मतदान भइरहेको हो।
तर सांसद तामाङको भनाइले पार्टीको यस संरचनाबारे उनी पूर्ण रूपमा अवगत नभएको देखाउँछ — जुन कुरा उनी आफैंले पनि स्वीकार गरिसकेकी छन्। फेसबुकमा लेखेकी एक पोस्टमा उनले भनेकी छन्, "मैले सोचेको थिएँ फागुन २१ जस्तै चुनाव हो, उही निर्वाचन आयोग होला भन्ने लागेको थियो। पार्टीको आफ्नै छुट्टै निर्वाचन आयोग हुन्छ भन्ने जानकारी ममा थिएन भन्दैमा के यो मिडिया ट्रायलको विषय बन्नुपर्छ? राजनीतिमा मेरो प्रवेश भएको जम्मा २ महिना भयो, र यो समय सहज रहेन। न मेरो बाबा राजनीतिज्ञ हुनुहुन्थ्यो, न आमा, न त म आफैं नै यसको पृष्ठभूमिबाट आएकी हुँ। मानिस सिक्दै र बुझ्दै जाने हो, तर यो महाधिवेशनबाट मैले के बुझ्न पाएँ भने, अन्तमा सास्ती त सधैं सामान्य जनताले नै भोग्ने रहेछ।
