दाङमा अवैध हतियार बिरुद्ध प्रहरी अभियान तीव्र, चार दिनमै ३७ भरुवा बन्दुक कब्जा
दाङमा अवैध हतियार बिरुद्ध प्रहरी अभियान तीव्र, चार दिनमै ३७ भरुवा बन्दुक कब्जा
चार दिनमै ३७ भरुवा बन्दुक कब्जा
घोराही, दाङ । दाङ जिल्लामा अवैध हतियार विरुद्ध चलाइएको विशेष खोजतलास अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय दाङले चार दिनको छोटो अवधिमै ३७ नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाभरका सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रका विभिन्न स्थानमा लुकाइछिपाइ राखिएको अवस्थामा यी हतियार फेला परेका हुन् ।
प्रहरीले सञ्चालन गरेको खोजतलास अभियानमा फेला परेका भरुवा बन्दुकको विवरण निम्नानुसार रहेको छ:
- बङ्गलाचुली गाउँपालिका — १४ नाल
- लमही नगरपालिका — १३ नाल
- तुलसीपुर उपमहानगरपालिका — ५ नाल
- बबई गाउँपालिका — २ नाल
- शान्तिनगर गाउँपालिका — १ नाल
- घोराही उपमहानगरपालिका — १ नाल
प्रहरीका अनुसार यसअघि साउन महिनामा मात्रै दाङभरिबाट ९० नाल भरुवा बन्दुक बरामद भइसकेको छ । प्रहरीले अवैध हतियार बरामद गर्न अभियान चलाएपछि घरमा राखिएका भरुवा बन्दुक समेत वनक्षेत्रमा लगेर लुकाउने प्रवृत्ति बढेको पाइएको छ, जसका कारण प्रहरीले वन क्षेत्रलाई केन्द्रित गरी खोजतलास तीव्र बनाएको हो ।
बरामद भएका सबै भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा रहेका छन् । यी हतियारका स्रोत, तिनको प्रयोगको उद्देश्य र लुकाउने काममा संलग्न व्यक्तिहरूबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
