Sep 17 2026 | २०८३, असोज १ गते

पानी घट्यो, जोखिम बढ्यो: बाढीपछि रोगको खतरा कति गम्भीर?

पानी घट्यो, जोखिम बढ्यो: बाढीपछि रोगको खतरा कति गम्भीर?

बाढीपछि रोगको खतरा कति गम्भीर?

सोमबार, भदौ १५ २०८३
सोमबार, भदौ १५ २०८३
  • पानी घट्यो, जोखिम बढ्यो: बाढीपछि रोगको खतरा कति गम्भीर?

    काठमाडौं — रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति गरिसकेको छ। तर विज्ञहरूका अनुसार बाढीको पानी घटेपछि पनि संकट टर्दैन — प्रभावित क्षेत्रमा अब संक्रामक रोगको जोखिम बढ्न सक्ने चेतावनी चिकित्सकहरूले दिएका छन्।

    दूषित पानी, असुरक्षित खानपान, फोहोर व्यवस्थापनको समस्या, भीडभाड र लामखुट्टेको वृद्धिका कारण हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया तथा श्वासप्रश्वाससम्बन्धी रोग फैलिन सक्ने चिकित्सकहरूको भनाइ छ। नुवाकोटको विदुर नगरपालिककी उपमेयर प्रभा बोगटीका अनुसार नदीमा शव बगेर आइरहेका छन्, जसको समयमै व्यवस्थापन नभए मानव बस्तीमा स्वास्थ्य जोखिम थपिने उनी बताउँछिन्।

    जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीका अनुसार टिमुरे, स्याफ्रुबेंसी, बेत्रावती, त्रिशुलीलगायत बाढी प्रभावित बस्तीमा मात्र होइन, वरपरका क्षेत्रमा समेत दूषित पानीका कारण हैजाजस्ता रोग फैलिन सक्छ। गाईवस्तुको मलमूत्र र दूषित पानीको सम्पर्कबाट लेप्टोस्पाइरोसिसको जोखिम पनि बढ्न सक्ने उनी बताउँछन्। यसैले स्वास्थ्य मन्त्रालय र स्थानीय निकायले प्रभावित क्षेत्रमा नियमित रोग निगरानी गर्नुपर्ने उनको सुझाव छ।

    सन् २०२२ मा पाकिस्तानमा आएको विनाशकारी बाढीपछि ठ्याक्कै यस्तै समस्या देखिएको थियो, जहाँ सुरक्षित पानी र सरसफाइको अभावमा हैजा, मलेरिया, डेंगु र श्वासप्रश्वासका रोगको जोखिम बढेको विश्व स्वास्थ्य संगठनले जनाएको थियो। यसले बाढीको पानी घट्नु मात्र समस्याको अन्त्य नभएको देखाउँछ।

    संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार विस्थापित मानिस घर, सम्पत्ति वा आफन्त गुमाएको अवस्थामा हुने भएकाले उनीहरूले व्यक्तिगत सरसफाइ र खानपानमा पर्याप्त ध्यान दिन सक्दैनन्। त्यसैले राहत तथा उद्धारमा संलग्न संस्था र व्यक्तिले सबैभन्दा पहिले सफा पानी र सुरक्षित खाना उपलब्ध गराउनुपर्ने उनको भनाइ छ। पानी उमालेर वा स्वास्थ्य निकायले सिफारिस गरेको विधिबाटै शुद्धीकरण गरेर पिउनुपर्ने उनी बताउँछन्।

    फ्यामिली फिजिसियन डा. विश्वराज दवाडीका अनुसार बाढीपछि जम्मा हुने पानीले लामखुट्टे बढाउँछ, जसले डेंगु र मलेरियाको जोखिम थप्छ। साना बालबालिका र ज्येष्ठ नागरिकमा निमोनियाजस्ता संक्रमणको जोखिम पनि उच्च रहने उनी बताउँछन्। पहिले नै कुनै दीर्घ रोग भएकाहरूले नियमित औषधि नपाउँदा उनीहरूको अवस्था थप जटिल हुनसक्ने चिकित्सकहरूको चेतावनी छ।

    अस्थायी शिविरमा भीडभाडमा बस्नुपर्ने अवस्थाले रुघाखोकी, फ्लु र छालासम्बन्धी संक्रमण पनि सजिलै फैलिन सक्छ। यस्तो अवस्थामा शौचालय र सरसफाइको व्यवस्थापन, साबुनपानीले हात धुने बानी, र संक्रमित देखिएका बिरामीलाई तुरुन्तै अलग राखेर उपचार गर्नुपर्ने चिकित्सकहरूको सुझाव छ।

    विज्ञहरूका अनुसार राहतमा खाद्यान्न मात्र पुगेर,पुग्दैन सफा पानी, पानी शुद्धीकरण सामग्री, साबुन, झुल र आवश्यक औषधि पनि राहतको अनिवार्य हिस्सा हुनुपर्छ। कुनै स्वास्थ्य चौकीमा अचानक झाडापखाला वा ज्वरोका बिरामी बढेमा त्यसको जानकारी तत्काल माथिल्लो स्वास्थ्य निकायसम्म पुग्ने संयन्त्र बनाइनुपर्ने डा. मरासिनी बताउँछन्।

    यस सन्दर्भमा उठेको मुख्य प्रश्न भनेकै जिम्मेवारीको हो। प्रभावित क्षेत्रमा सुरक्षित खानेपानी, सरसफाइ, स्वास्थ्य सामग्री र रोग निगरानी सुनिश्चित गर्ने दायित्व स्वास्थ्य मन्त्रालय, स्थानीय तह, सुरक्षा निकाय र राहतमा खटिने संघसंस्था सबैको साझा हो भन्ने विज्ञहरूको ठहर छ। प्राकृतिक प्रकोप रोक्न मानिसको हातमा नभए पनि, त्यसपछि फैलिन सक्ने रोगको जोखिम भने समयमै सावधानी र प्रभावकारी समन्वयबाट धेरै हदसम्म कम गर्न सकिने विज्ञहरूको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट