त्रिशूली जलविद्युत आयोजनामा उद्धार कार्य जारी, दर्जनौं कर्मचारी अझै सम्पर्कविहीन
त्रिशूली जलविद्युत आयोजनामा उद्धार कार्य जारी, दर्जनौं कर्मचारी अझै सम्पर्कविहीन
दर्जनौं कर्मचारी अझै सम्पर्कविहीन
काठमाडौं। रसुवा-नुवाकोटतर्फ आएको भोटेकोशी बाढीले क्षति पुर्याएका जलविद्युत आयोजनाहरूमा नेपाल विद्युत् प्राधिकरणले खोज तथा उद्धार कार्य निरन्तर जारी राखेको छ। प्राधिकरणका अनुसार भदौ १७ गते दिउँसो १ बजेसम्मको प्रगति विवरणअनुसार जटिल भौगोलिक अवस्था, प्रतिकूल मौसम र आवश्यक सामग्री हवाई मार्गबाटै ओसार्नुपर्ने चुनौतीका बीच आफ्ना सम्पूर्ण स्रोतसाधन अधिकतम परिचालन गरी विपद्मा परेका कर्मचारी तथा कामदारको खोजी गरिरहेको छ।

प्राधिकरणका अनुसार ढुङ्गा, बालुवा र माटोजस्ता पदार्थ ठूलो परिमाणमा थुप्रिएका कारण त्रिशूली नदीको जलस्तर पहिलेभन्दा निकै उच्च रहेको छ। यसका साथै सुरुङको मुख्य प्रवेशमार्ग लगायत पावर हाउस क्षेत्र नै धेरै हदसम्म पुरिएको अवस्थामा छ। यस्तो अवस्थामा पावर हाउससम्म पुग्नका लागि विभिन्न उपकरणको प्रयोग गरी केबल सुरुङबाट प्रवेश गर्ने वैकल्पिक बाटो निर्माण गर्ने कार्य भइरहेको छ। यस क्रममा भेटिएका ठूला-ठूला ढुङ्गाहरूलाई ब्लास्ट गरी हटाउने कार्य पनि सँगसँगै अघि बढाइएको छ।
यसका अतिरिक्त केबल सुरुङको मुख खोलाको सतहभन्दा तल रहेकाले सुरुङ र भर्खरै बनाइएको प्रवेशमार्गमा जम्मा भएको पानी पम्पिङ गरी बाहिर फाल्ने (डिवाटरिङ) कार्य पनि निरन्तर जारी रहेको प्राधिकरणले जनाएको छ।
सम्बन्धित जलविद्युत उत्पादन केन्द्र, वितरण केन्द्र, ग्रिड सबस्टेसन तथा प्रसारण लाइन आयोजनाहरूबाट प्राप्त विवरणअनुसार प्राधिकरणका निम्न कर्मचारी तथा कामदारसँग हालसम्म सम्पर्क स्थापित हुन नसकेको बताइएको छ, जसको खोजी तथा उद्धार कार्य चौबीसै घण्टा अविरल रूपमा चलिरहेको छ।
देविघाट जलविद्युत केन्द्र (२४ मेगावाट) मा कार्यरत एक सुरक्षा गार्ड, त्रिशूली जलविद्युत केन्द्र (२४ मेगावाट) मा कार्यरत एक कर्मचारी र दुई सुरक्षा गार्ड गरी तीन जना, माथिल्लो त्रिशूली ३ए जलविद्युत केन्द्र (६० मेगावाट) मा कार्यरत ४२ जना कर्मचारी तथा कामदार, रसुवा वितरण केन्द्रको एक कामदार, त्रिशूली ३बी हब २२० केभी सबस्टेसनमा कार्यरत एक सुरक्षा गार्ड, र चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनामा कार्यरत एक कर्मचारी सम्पर्कविहीन रहेका छन्।
माथिल्लो त्रिशूली ३ए आयोजनामा मात्रै ४२ जना सम्पर्कविहीन रहेकाले यो स्थल हाल प्राधिकरणको उद्धार कार्यको मुख्य केन्द्रबिन्दु बनेको छ। भूगोलको विकटता र निरन्तर बिग्रँदो मौसमी अवस्थाका बाबजुद प्राधिकरणले उद्धार तथा पुनर्स्थापना कार्यलाई तीव्रता दिने प्रतिबद्धता जनाएको छ।