अब मोबाइलबाटै सडक गुनासो दर्ता, सरकारले ल्यायो 'सडक सुझाव एप'
अब मोबाइलबाटै सडक गुनासो दर्ता, सरकारले ल्यायो 'सडक सुझाव एप'
सरकारले ल्यायो 'सडक सुझाव एप'
काठमाडौं, १ असोज । काठमाडौं उपत्यकाभित्र बिग्रिएका संघीय सडकको मर्मतलाई प्रभावकारी बनाउन 'सडक सुझाव एप' औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सडक डिभिजन कार्यालय, काठमाडौंले सफल परीक्षणपछि यो एपलाई औपचारिक रूपमा सार्वजनिक गरेको हो।
यस एपमार्फत अब काठमाडौं उपत्यकाभित्रका नागरिकले संघीय सडकअन्तर्गतका क्षतिग्रस्त सडकको मर्मतसम्बन्धी गुनासो तथा सुझाव सिधै दर्ता गर्न सक्नेछन्। दर्ता गरिएको गुनासोको समाधान प्रक्रिया र अवस्था नागरिकले आफैं एपमार्फत हेर्न सक्ने व्यवस्था मिलाइएको छ, र गुनासो सम्बोधन भएपछि सोको जानकारी समेत एपबाटै प्राप्त हुनेछ।
हाल यो एपमार्फत काठमाडौं उपत्यकाभित्रका करिब ४७२ किलोमिटर संघीय सडकसम्बन्धी गुनासो दर्ता गर्न सकिनेछ। संघीय सडकअन्तर्गत नपर्ने सडकका हकमा भने ती सडक कुन निकायको जिम्मेवारीमा पर्छ भन्ने जानकारी समेत नागरिकलाई उपलब्ध गराइनेछ।
सडक मर्मतसम्बन्धी गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै यो एपलाई देशव्यापी रूपमा विस्तार गर्ने तयारी अघि बढाइएको छ। आगामी दुई हप्ताभित्र ललितपुर र भक्तपुरलाई समेत एपमा समावेश गरिने र क्रमशः देशभरै सेवा विस्तार गर्ने लक्ष्य राखिएको छ।