Apple देखि Dabur सम्म: नेपालमा ३५० ट्रेडमार्क आवेदन
Apple देखि Dabur सम्म: नेपालमा ३५० ट्रेडमार्क आवेदन
नेपालमा ३५० ट्रेडमार्क आवेदन
उद्योग विभागले "औद्योगिक सम्पत्ति बुलेटिन" (वर्ष २०, अंक ७) प्रकाशन गरेको छ, जसमा पेटेन्ट, डिजाइन तथा ट्रेडमार्क ऐन, २०७९ (संशोधनसहित)को दफा १७ बमोजिम विभागमा प्राप्त भएका ३५० भन्दा बढी ट्रेडमार्क आवेदनको विवरण समावेश छ। दफा १८(१) अनुसार दर्ता गर्नुअघि दाबी विरोध गर्ने मौका दिनका लागि यो सूचना प्रकाशित गरिएको हो।
बुलेटिनमा नेपाली तथा विदेशी दुवै कम्पनीका आवेदन समेटिएका छन्। घरेलु कम्पनीमध्ये लालितपुरकै एफवानसफ्ट इन्टरनेशनलले "ब्याङ्कनेक्स्ट" नामक डिजिटल मल्टिमिडिया सेवाको ट्रेडमार्कका लागि आवेदन दिएको छ। यसैगरी केटीएम नेपाल, ग्लोबल भिक्टर्स, हिमग्लो कस्मेटिक, आरुश्री लाइफ साइन्सेज, सम्पदा हेल्थकेयरलगायत दर्जनौं स्वदेशी उद्योगले पनि आ-आफ्ना ब्रान्ड नाम दर्ताका लागि प्रयास गरेका छन्।
विदेशी कम्पनीतर्फ ठूला अन्तर्राष्ट्रिय ब्रान्डको उपस्थिति उल्लेखनीय छ। एप्पलले "प्रोरेस" ट्रेडमार्कका लागि, किया कर्पोरेसनले EV9 र PV सिरिजका विभिन्न मोडलका लागि, ह्युन्डाइले "प्लियोस" नामका लागि, र होनरले म्याजिक श्रृंखलाका थुप्रै मार्कका लागि आवेदन दिएका छन्। डाबर नेपालले पनि "डाबर भाटिका नेचुरल्स," "डाबर आँवला हेयर अइल" र "डाबर गुलाबारी" लगायत आफ्ना परिचित उत्पादनका ट्रेडमार्क नविकरण वा विस्तार गर्न आवेदन दिएको छ। एसियन पेन्ट्स, ह्युगो बस, र चेरी अटोमोबाइलजस्ता ब्रान्ड पनि सूचीमा समावेश छन्।
बुलेटिनले औषधि, सौन्दर्य प्रसाधन, रंगरोगन, इलेक्ट्रोनिक्स, गाडी, आभूषणलगायत विविध क्षेत्रका ट्रेडमार्क समेटेको छ, जसले नेपालको बजारमा बढ्दो ब्रान्ड दर्ता गतिविधि र स्वदेशी-विदेशी लगानीको विविधतालाई प्रतिबिम्बित गर्छ। दर्ता प्रक्रियामा कुनै आपत्ति भएमा सम्बन्धित पक्षले प्रमाणसहित सूचना प्रकाशित मितिले ९० दिनभित्र विभागमा उजुरी दिन सक्ने व्यवस्था छ, अन्यथा उल्लिखित ट्रेडमार्क स्वतः दर्ता हुने जनाइएको छ।