भोटेकोशी बाढीपीडितका लागि सौर्य र रिद्धि सिद्धिको १ करोड १ लाख सहयोग
भोटेकोशी बाढीपीडितका लागि सौर्य र रिद्धि सिद्धिको १ करोड १ लाख सहयोग
काठमाडौं — भाद्र १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीको कारण सिर्जित परिस्थितिलाई मध्यनजर गर्दै, प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि रिद्धि सिद्धि सिमेन्ट लिमिटेडले ५१ लाख रुपैयाँ र सौर्य सिमेन्टले ५० लाख रुपैयाँ गरी कुल १ करोड १ लाख रुपैयाँको चेक कम्पनीका अध्यक्ष हरि न्यौपाने र निर्देशक पूर्णभद्र पौडेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन्।
बाढीबाट प्रभावित नागरिकको पुनर्निर्माण तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले दुवै कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्थानान्तरण हुने गरी हस्तान्तरण गरेका हुन्। विपद्को समयमा पीडित नागरिक र समुदाय लक्षित सहयोग सरकारको आधिकारिक संयन्त्रमार्फत परिचालन गर्दा वास्तविक पीडितसमक्ष पुर्याउन सहज हुने भएकाले सरकारी च्यानलमार्फत रकम हस्तान्तरण गरेको न्यौपानेले बताए।
न्यौपानेले बाढीबाट प्रभावित नागरिकको पुनर्निर्माणमा उक्त रकम उपयोगी हुने विश्वास व्यक्त गर्दै विपद्को कठिन अवस्थामा निजी क्षेत्र सरकार र नागरिकको साथमा आफूहरू उभिने प्रतिबद्धता दोहोर्याएका थिए।

भोटेकोशी क्षेत्रमा आएको बाढीले ठूलो जनधनको क्षति गर्नुका साथै १४ वटा जलविद्युत् गृह, निजी तथा सरकारी घर, विद्यालय, सडक, पुल, होटल लगायतका भौतिक संरचनामा समेत व्यापक क्षति पुर्याएको छ। हजारौं दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकमा डुबेका परिवारजनमा कम्पनीले समवेदना प्रकट गरेको छ।
नागरिकको स्वास्थ्य र जिउधनभन्दा ठूलो अरू केही नहुने हुँदा मानवीय सेवा नै आफ्नो धर्म रहेको निर्देशक पौडेलले बताए।