सीप र प्रविधिका अधिष्ठाता विश्वकर्मा बाबाको आज पूजा, देशभर उत्साह
सीप र प्रविधिका अधिष्ठाता विश्वकर्मा बाबाको आज पूजा, देशभर उत्साह
काठमाडौं । आज असोज संक्रान्ति अर्थात् कन्या संक्रान्तिको अवसरमा देशभर परम्परागत रूपमा विश्वकर्मा पूजा मनाइँदैछ। निर्माण, प्रविधि र औजार-उपकरणका अधिष्ठाता मानिने विश्वकर्मा बाबाको यस दिन विशेष आराधना गर्ने चलन रहिआएको छ।
वैदिक सनातन हिन्दू परम्परा अनुसार आश्विन संक्रान्तिका दिन आ-आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग हुने धातुजन्य उपकरण तथा औजारहरूको पूजा गरी विश्वकर्मा पूजा मनाउने गरिन्छ। आज विशेषगरी कालिगढ र सीपमूलक पेशामा संलग्न व्यक्तिहरूले फलामे औजार तथा आफ्ना कलकारखानाको विधिवत् पूजाआजा गरेका छन्।
परम्परा अनुसार विश्वकर्माको मूर्ति निर्माण गरी बाग्मती नदीको मुहानस्थल सुन्दरीजल वा अन्य नदी किनारमा लगेर सेलाउने गरिन्छ, जुन कार्य आज पनि विभिन्न स्थानमा सम्पन्न भइरहेको छ। यस पूजाले सीप, प्रविधि र श्रमप्रतिको सम्मान झल्काउने आयोजकहरूको भनाइ छ।
काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा भक्तजनुहरूको घुइँचो लागेको देखिएको छ, र धार्मिक तथा सांस्कृतिक रीतिथिति अनुसार यो पर्व श्रद्धापूर्वक मनाइँदैछ।