"आन्तरिक स्रोतले पुग्दैन": नेपालले अन्तर्राष्ट्रिय कोषसँग मागेको आपत्कालीन सहयोग
"आन्तरिक स्रोतले पुग्दैन": नेपालले अन्तर्राष्ट्रिय कोषसँग मागेको आपत्कालीन सहयोग
नेपालले अन्तर्राष्ट्रिय कोषसँग मागेको आपत्कालीन सहयोग
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको संयुक्त हस्ताक्षरमा कोषको सञ्चालक समिति (बोर्ड)का सह-अध्यक्षहरूलाई सम्बोधन गर्दै आज एक आधिकारिक पत्र पठाइएको हो। पत्रमा भोटेकोशी बाढीलाई उच्च हिमाली क्षेत्रबाट सुरु भएको चरम जलवायुजन्य विपद्का रूपमा उल्लेख गरिएको छ।
काठमाडौं — भोटेकोशी नदी बेसिनमा हालै आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिपछि नेपाल सरकारले अन्तर्राष्ट्रिय "हानी-नोक्सानी कोष" (Loss and Damage Fund) सँग आपत्कालीन वित्तीय सहयोग तत्काल उपलब्ध गराउन औपचारिक अनुरोध गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको संयुक्त हस्ताक्षरमा कोषको सञ्चालक समिति (बोर्ड)का सह-अध्यक्षहरूलाई सम्बोधन गर्दै आज एक आधिकारिक पत्र पठाइएको हो। पत्रमा भोटेकोशी बाढीलाई उच्च हिमाली क्षेत्रबाट सुरु भएको चरम जलवायुजन्य विपद्का रूपमा उल्लेख गरिएको छ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयमा आयोजित बहुसरोकारवाला छलफल कार्यक्रममा प्रवक्ता डा. महेश्वर ढकालले नेपालले कोषसमक्ष औपचारिक पत्राचार गर्दै बाढीले पुर्याएको क्षतिको परिमाण नेपालको आन्तरिक स्रोत र तात्कालिक सम्बोधन गर्ने क्षमताभन्दा निकै माथि रहेको विषय उल्लेख गरेको बताए। कोषको कार्यविधिअनुसार तत्काल, प्रत्यक्ष र प्रभावकारी सहायता उपलब्ध गराउन विशेष बैठक बसी निर्णय लिन आग्रह गरिएको छ।
डा. ढकालका अनुसार कोषको नियमित प्रक्रियाअनुसार बोर्ड बैठक आगामी डिसेम्बरमा बस्ने तय भए पनि नेपालको वर्तमान मानवीय तथा आर्थिक संकटलाई दृष्टिगत गर्दै विशेष निर्णयमार्फत तत्काल आपत्कालीन सहयोग उपलब्ध गराउन आग्रह गरिएको हो। "बोर्डको नियमित बैठक पर्खनु नेपालका लागि धेरै ढिलो हुन्छ। त्यसैले विशेष निर्णयमार्फत तत्काल सहयोग उपलब्ध गराइयोस् भन्ने हाम्रो आग्रह हो," उनले भने।
पत्रमा समयको संवेदनशीलतालाई जोड दिँदै तत्काल प्राप्त हुने सहयोगले प्रभावित नागरिकहरूको सुरक्षा गर्न, अत्यावश्यक सेवाहरू पुनःस्थापना गर्न र दीर्घकालीन पुनर्निर्माणको जग बसाल्न सघाउने उल्लेख गरिएको छ।
यसैबीच सरकारले स्वदेश तथा विदेशबाट सहयोगका लागि चासो व्यक्त गर्ने सबैलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister Disaster Relief Fund) मार्फत सहयोग गर्न पनि हार्दिक अपिल गरेको छ। बुधबार बिहान ८:४० बजे रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका तटीय क्षेत्र प्रभावित बनाएको थियो, जसको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा ठूलो धनराशी खर्चिनुपर्ने अवस्था सिर्जना भएको छ।
अन्तर्राष्ट्रिय नागरिक स्तरबाट पनि नेपालका बाढीपीडितका लागि सहयोगको आह्वान सुरु भइसकेको छ। अमेरिकाको भर्जिनिया मूल भई हाल ग्रिसको एथेन्समा बस्दै आएकी टासी इकोनोमोपोलोसले समेत सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषको लिंक सार्वजनिक गर्दै सहयोगको अपिल गरेकी छन्।