भीषण बाढी–पहिरो पीडितका लागि नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्वारा प्रधानमन्त्री राहत कोषमा रु. १ करोड १ लाख सहयोग
भीषण बाढी–पहिरो पीडितका लागि नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्वारा प्रधानमन्त्री राहत कोषमा रु. १ करोड १ लाख सहयोग
रु. १ करोड १ लाख सहयोग
काठमाडौं । हालै मिति २०८२ भदौ १० गते बुधबार बिहान चीनको सिजाङ (तिब्बत) तर्फबाट आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन, पूर्वी नवलपरासी लगायतका जिल्लाहरूको बस्तीहरूमा पुगेको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले गहिरो दुःख व्यक्त गर्दै प्रधानमन्त्री राहत कोषमा रु. १,०१,००,००० (एक करोड एक लाख रुपैयाँ) सहयोग गर्ने निर्णय गरेको छ।
यस विपद्मा ठूलो संख्यामा नागरिकहरू हताहत भएका, मृत्यु भएका, बेपत्ता भएका तथा धेरै नागरिकहरू घाइते भएको साथै घरसम्पत्ति र सार्वजनिक संरचनामा समेत अपुरणीय क्षति पुगेको जानकारी दुःखदायी रूपमा प्राप्त भएको संघले जनाएको छ। यस गम्भीर अवस्थालाई दृष्टिगत गर्दै पीडित परिवारलाई तत्काल राहत, उपचार तथा अन्य आवश्यक सहयोग उपलब्ध गराउन सरकारले सिष्ठ कदम चाल्नुपर्ने वर्तमान अवस्था रहेको र दीर्घकालीन समाधानका लागि प्रभावित क्षेत्रहरूको पुनर्स्थापना तथा पूर्वाधार निर्माणमा समेत विशेष सतर्कता अपनाउन जरुरी रहेको संघको भनाइ छ।

संघले सम्बन्धित निकायहरूको सक्रिय पहल, समयोचित निर्णय तथा आवश्यक सहयोगले पीडित परिवारलाई ठूलो राहत पुग्नेछ भन्ने विश्वास व्यक्त गरेको छ। नेपाल वनस्पति घ्यू तेल उत्पादक संघ तथा सदस्य उद्योगहरूले नागरिक, समाज एवं राष्ट्रप्रति जिम्मेवार तथा उत्तरदायी रहँदै यस्ता संवेदनशील अवस्थामा राष्ट्रिय एकता, सामाजिक सहकार्य र मानवीय भावना अनुरूप उक्त सहयोग प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको जनाएको छ।
अन्त्यमा, आगामी दिनमा पनि संघले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोगात्मक कार्यमा संलग्न रहिरहने प्रतिबद्धता व्यक्त गर्दै यस दुःखद समयमा नेपाल सरकार लगायत सबै सम्बन्धित पक्षहरूको संवेदनशीलता र सहयोगले मात्र नागरिक एवं प्रभावित क्षेत्रहरूको पुनर्स्थापना तथा पूर्वाधार निर्माणले गति लिन सक्ने धारणा राखेको छ।