Sep 22 2026 | २०८३, असोज ६ गते

वसन्तपुरमा इन्द्रजात्राको तयारी अन्तिम चरणमा, रङरोगन र रथ निर्माण तीव्र

वसन्तपुरमा इन्द्रजात्राको तयारी अन्तिम चरणमा, रङरोगन र रथ निर्माण तीव्र

३१ वटा गुठी खलः व्यवस्थापन समितिसँग आबद्ध, विदेशी पर्यटकका लागि पनि विशेष व्यवस्था

सोमबार, असोज ५ २०८३
सोमबार, असोज ५ २०८३
  • वसन्तपुरमा इन्द्रजात्राको तयारी अन्तिम चरणमा, रङरोगन र रथ निर्माण तीव्र

    काठमाडौं, असोज ५ । विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक वसन्तपुर दरबार क्षेत्रमा यस वर्षको इन्द्रजात्राको तयारी अन्तिम चरणमा पुगेको छ। जात्राका लागि रथ निर्माण, सरसफाइ र सम्पदा क्षेत्रको रङरोगनलगायतका काम तीव्र गतिमा भइरहेका छन्।

    दरबार क्षेत्रमा रहेका काष्ठमण्डप, कुमारी घर र शिव पार्वती मन्दिरलगायतका सम्पदामा रङरोगन गर्ने तथा रातो ध्वजा फेर्ने काम जारी छ। इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यका अनुसार जात्राका लागि आवश्यक अधिकांश तयारी पूरा भइसकेको छ।

    जात्रालाई व्यवस्थित र भव्य रूपमा सञ्चालन गर्न ३१ वटा गुठी खलः समितिसँग आबद्ध रहेको अध्यक्ष शाक्यले जानकारी दिए। जात्राको व्यवस्थापन र सुरक्षाबारे सम्बन्धित निकायसँग छलफल भइसकेको पनि उनले बताए। राष्ट्रिय पर्वका रूपमा मनाइने इन्द्रजात्रा हेर्न ठूलो संख्यामा विदेशी पर्यटक आउने भएकाले उनीहरूको सहजताका लागि आवश्यक व्यवस्था मिलाइएको समितिले जनाएको छ।

    विशेषगरी नेवार समुदायमा धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको इन्द्रजात्रा काठमाडौं उपत्यकाका साथै ललितपुर, भक्तपुर, धुलिखेल र दोलखालगायतका क्षेत्रमा परम्परागत रूपमा मनाइन्छ। जात्राको प्रमुख विधिअन्तर्गत हनुमानढोकामा इन्द्रध्वजसहितको लिङ्गो ठड्याइन्छ, जसलाई ‘इन्द्रध्वजोत्थान’ भनिन्छ। लिङ्गोको फेदमा भैरवको पूजा गर्ने परम्परा छ। धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार यो पर्व शत्रुमाथि विजय प्राप्त गरेपछिको उत्सवका रूपमा मनाइन्छ भने इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गर्ने र त्यसको प्रदर्शन गर्ने पर्वका रूपमा पनि यसलाई महत्त्वपूर्ण मानिन्छ।

    जात्राका अवसरमा हनुमानढोकास्थित गद्दी बैठकबाट राष्ट्रपतिले जीवित देवीका रूपमा पुजिने कुमारी, गणेश र भैरवको रथयात्रा अवलोकन गर्ने परम्परा छ। लिङ्गो ठड्याएपछि सुरु हुने जात्रामा विभिन्न परम्परागत नाच तथा सांस्कृतिक प्रदर्शन गरिन्छ। भक्कुनाच, महाकाली नाच, लाखेनाच, दशअवतार र पुलुकिसी नाच जात्राका प्रमुख आकर्षण हुन्। पुलुकिसी नाचलाई देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा लिइन्छ।

    लिङ्गो ठड्याएको आठौँ दिन अर्थात् आश्विन कृष्ण चतुर्थीका दिन इन्द्रध्वज पातन गरेपछि इन्द्रजात्राको विधिवत् समापन गर्ने परम्परा रहेको व्यवस्थापन समितिले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट