Sep 22 2026 | २०८३, असोज ६ गते

नवौँ जग्गा, आवास तथा निर्माण प्रदर्शनी सम्पन्न, ८० हजारले गरे अवलोकन

नवौँ जग्गा, आवास तथा निर्माण प्रदर्शनी सम्पन्न, ८० हजारले गरे अवलोकन

नीतिगत सुधार, कर्जा विस्तार र पीपीपी मोडलमार्फत एकीकृत बस्ती विकासमा जोड

सोमबार, असोज ५ २०८३
सोमबार, असोज ५ २०८३
  • नवौँ जग्गा, आवास तथा निर्माण प्रदर्शनी सम्पन्न, ८० हजारले गरे अवलोकन

    काठमाडौं, असोज ४ । ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने नाराका साथ भृकुटीमण्डपको प्रदर्शनी हलमा सञ्चालित ४-दिने ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी–२०८३’ आइतबार भव्यताका साथ सम्पन्न भएको छ। चार दिनको अवधिमा करिब ८० हजार व्यक्तिले प्रदर्शनी अवलोकन गरेको आयोजकले जनाएको छ।

    नेपाल जग्गा तथा आवास विकास महासंघ, नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा भएको प्रदर्शनीको समापन समारोहमा सहभागी सरकारी प्रतिनिधि, व्यवसायी तथा विज्ञहरूले घरजग्गा क्षेत्रलाई चलायमान बनाउन नीतिगत सुधार, कर्जा विस्तार तथा सार्वजनिक–निजी साझेदारीमार्फत एकीकृत बस्ती विकासमा जोड दिएका छन्।

    समापन समारोहका प्रमुख अतिथि तथा प्रतिनिधिसभाको पूर्वाधार विकास समितिका सभापति इन्जिनियर आशिष गजुरेलले ८० हजारभन्दा बढी नागरिकको सहभागिताले घरजग्गा तथा आवास क्षेत्रप्रति जनताको आकर्षण कायम रहेको देखाएको बताए। छरिएर रहेका असुरक्षित बस्तीमा सडक, खानेपानी र विद्युतजस्ता पूर्वाधार पुर्‍याउँदा राज्यको ठूलो स्रोत खर्च भइरहेको भन्दै उनले एकीकृत बस्ती विकासतर्फ जानुपर्ने आवश्यकता औंल्याए। गत भदौ १० गते रसुवा तथा भोटेकोशी क्षेत्रमा आएको बाढीले जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने आवश्यकता थप स्पष्ट पारेको उनको भनाइ थियो। विपद्पछिको पुनर्निर्माणलाई सुरक्षित र योजनाबद्ध बस्ती विकाससँग जोड्नुपर्ने उनले बताए।

    WhatsApp Image 2026-09-21 at 08.17.46 (1).jpeg

    सीमित विकास बजेटका कारण पूर्वाधार विकासमा निजी क्षेत्र, वैदेशिक लगानी र डायस्पोरा फन्ड परिचालन गर्न आवश्यक रहेको उल्लेख गर्दै गजुरेलले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा सरकार र निजी क्षेत्रबीच लाभ तथा जोखिम बाँडफाँड गरेर अघि बढ्न सकिने बताए। व्यवसायीले उठाएका कानुनी तथा नीतिगत समस्यामा पूर्वाधार विकास समितिमा छलफल गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

    विशेष अतिथि तथा प्रतिनिधिसभाको अर्थ तथा सुशासन समितिका संयोजक रुकेश रञ्जितले अपेक्षाभन्दा बढी दर्शकको सहभागिताले अर्थतन्त्र सुधारोन्मुख रहेको संकेत गरेको बताए। सुरुमा ३० देखि ४० हजार दर्शक आउने अनुमान गरिएकोमा ७० देखि ८० हजारभन्दा बढी पुगेको र कतिपय स्टलमा घरको स्टकसमेत सकिएको उनको भनाइ थियो। घरजग्गा व्यवसायलाई जग्गा किनबेचको गतिविधिमा मात्र सीमित नराखी उद्योगका रूपमा विकास गर्नुपर्ने उनले बताए। रसुवाको बाढीपछिको पुनर्निर्माणमा नयाँ इन्जिनियरिङ अवधारणा र वातावरणीय सन्तुलनसहित सुरक्षित बस्ती विकास गर्नुपर्ने र सहरी पूर्वाधारमा युटिलिटी करिडोरको अवधारणा अघि बढाउनुपर्ने पनि उनले जोडे।

    समारोहका सभापति तथा नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष इन्जिनियर दीपक कुँवरले ८० हजारभन्दा बढीको सहभागिताले व्यवसायीमा नयाँ ऊर्जा थपिएको बताए। उनका अनुसार घरजग्गा व्यवसायसँग इँटा, सिमेन्ट, रड, ढुंगा र गिट्टीलगायत २४० भन्दा बढी स्वदेशी उद्योग प्रत्यक्ष रूपमा जोडिएका छन्। तर जग्गाको हदबन्दीलगायत नीतिगत व्यवस्थाका कारण करिब दुई खर्ब रुपैयाँबराबरको घरजग्गा रोक्का रहेको उनको दाबी थियो। ठूला आवासीय तथा सहरी विकास परियोजना अघि बढाउन हदबन्दीसम्बन्धी अवरोध हटाउनुपर्ने उल्लेख गर्दै उनले सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर नयाँ सहर तथा स्मार्ट सिटी विकास गर्न सक्ने प्रस्ताव पनि अघि सारे।

    नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष तथा महासंघका सल्लाहकार दीपक मल्होत्राले घरजग्गा क्षेत्रलाई चलायमान बनाउन राष्ट्र बैंकको कर्जा नीतिको पुनरावलोकन आवश्यक रहेको बताए। उनले बैंक तथा वित्तीय संस्थाबाट घरजग्गा तथा आवास क्षेत्रमा जाने कर्जाको लोन–टु–भ्यालु (एलटीभी) अनुपात कम्तीमा ७० प्रतिशत कायम गर्न र लामो समयदेखि समस्यामा रहेका व्यवसायीलाई कर्जा पुनर्संरचना तथा पुनर्कर्जाको सुविधा दिन माग गरे। सरकारी कर्मचारीका लागि एक लाख आवास निर्माण गर्ने विगतका बजेट भाषणका योजनामा रियल स्टेट व्यवसायीलाई समेट्न पनि उनले आग्रह गरे। घरजग्गा कारोबारमा आएको सुस्तताले निर्माण क्षेत्रदेखि बैंकिङ र अन्य व्यवसायमा समेत असर परेको भन्दै यो क्षेत्र चलायमान भए अर्थतन्त्र नै चलायमान हुने धारणा उनले राखे।

    महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले समापन समारोहमा चार प्रमुख नीतिगत माग अघि सारे। उनले घरजग्गा व्यवसायमा रहेको हदबन्दी हटाउनुपर्ने, हालको ५० प्रतिशत रहेको एलटीभी अनुपात कम्तीमा ८० प्रतिशत पुर्‍याउनुपर्ने, घरजग्गा क्षेत्रलाई उद्योगसरह मान्यता दिनुपर्ने तथा अपार्टमेन्ट र आवास क्षेत्रमा रहेको कमन स्पेसको स्वामित्व राजस्व नलाग्ने गरी व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुपर्ने माग गरे। स्मार्ट सिटीका नाममा लामो समयदेखि रोक्का रहेका जग्गाको समस्या समाधान गरी निजी क्षेत्रलाई ल्यान्ड पुलिङ र हाउस पुलिङको जिम्मेवारी दिनुपर्ने उनको भनाइ थियो। निजी क्षेत्रलाई जिम्मेवारी दिए योजनाबद्ध बस्ती विकासका काम छिटो अघि बढ्न सक्ने उनले सुझाव दिए।

    चार दिनसम्म चलेको प्रदर्शनीमा सात लाख रुपैयाँदेखि करोडौँ रुपैयाँसम्मका किफायती घर, अपार्टमेन्ट तथा विभिन्न स्थानका घडेरी बिक्री तथा प्रदर्शनका लागि राखिएका थिए। बैंक तथा वित्तीय संस्थाले ५.४९ प्रतिशतदेखि ६ प्रतिशतसम्मको ब्याजदरमा कर्जा प्रस्ताव गरेकाले उपभोक्तालाई घरजग्गा खरिदका विकल्पबारे जानकारी लिन सहज भएको आयोजकले जनाएको छ। प्रदर्शनी अवधिभर वास्तुशास्त्र, सार्वजनिक–निजी साझेदारी, नीतिगत सुधार, भूकम्पीय सुरक्षा र सुरक्षित आवासलगायत विषयमा सेमिनार तथा अन्तरक्रिया आयोजना गरिएको थियो। यसले घर निर्माण तथा जग्गा खरिदमा रुचि राख्ने उपभोक्तालाई व्यवसायी र प्राविधिकसँग प्रत्यक्ष जानकारी लिने अवसर दिएको आयोजकको भनाइ छ।

    प्रदर्शनीमा किफायती आवास, अपार्टमेन्ट, घडेरी, निर्माण सामग्री तथा वित्तीय सेवासँग सम्बन्धित विभिन्न कम्पनी र संस्थाको सहभागिता थियो। सिजी प्रोपर्टिज शीर्ष प्रायोजक र एसियन पेन्ट्स ‘पावर्ड बाई’ प्रायोजक रहेका थिए। समापन समारोहमा उत्कृष्ट प्रदर्शक तथा प्रायोजक एसियन पेन्ट्सलगायतका प्रदर्शकलाई प्रशंसापत्र प्रदान गरिएको थियो। समापनअघि आइतबारै वरिष्ठ उद्यम प्रशिक्षक उत्तम झाले बी टु बी (व्यापारिक सञ्जाल) सेमिनार सञ्चालन गरी व्यापारी तथा उद्योगीलाई एकअर्कासँग जोड्ने काम गरेका थिए।

    आयोजकले आगामी दिनमा सरकारसँग नीतिगत सहकार्य गर्दै सुरक्षित आवास र व्यवस्थित बस्ती विकासलाई प्राथमिकतामा राख्ने जनाएको छ। एउटै छानामुनि बैंकिङ, वित्तीय परामर्श, इन्जिनियरिङ र निर्माण प्रविधिसम्बन्धी एकीकृत सेवा उपलब्ध गराइएकाले उपभोक्ता तथा लगानीकर्ताका लागि एक्स्पो फलदायी बनेको आयोजकको विश्वास छ। मन्दीमा रहेको घरजग्गा तथा निर्माण क्षेत्रलाई नयाँ दिशा र गतिशीलता दिँदै अर्थतन्त्र चलायमान बनाउन यसले योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    आयोजकको तर्फबाट एक्स्पो आयोजना तथा तयारी समितिका संयोजक रोशन भोयद्योसहितको टोलीको अहोरात्र खटाइप्रति उच्च सम्मान व्यक्त गरिएको छ। साथै प्रायोजक संस्था सिजी प्रोपर्टिज र एसियन पेन्ट्सलगायत सम्पूर्ण प्रदर्शक, बैंक तथा वित्तीय संस्था, मिडियाकर्मी र अवलोकनकर्तालाई हार्दिक आभार प्रकट गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट