भोटेकोशी–त्रिशुली बाढीबाट पर्यटन क्षेत्रमा रु ५२ अर्ब ६७ करोड क्षति, पुनरुत्थान योजना बनाउने निर्णय
भोटेकोशी–त्रिशुली बाढीबाट पर्यटन क्षेत्रमा रु ५२ अर्ब ६७ करोड क्षति, पुनरुत्थान योजना बनाउने निर्णय
पर्यटन क्षेत्रको पुनरुत्थानका लागि दिगो र जलवायु-अनुकूल कार्ययोजना बनाउने तयारी
काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र पछिल्लो पहिरोबाट नेपालको पर्यटन क्षेत्रमा रु ५२ अर्ब ६७ करोड ४५ लाख ७६ हजार ५०० बराबरको प्रारम्भिक आर्थिक क्षति पुगेको प्रतिवेदन पेश भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सोमबार आयोजित छलफल कार्यक्रममा नेपाल पर्यटन बोर्डको द्रूत प्रतिक्रिया टोली (क्यूआरटी)का संयोजक तथा बोर्डका कार्यकारी सदस्य सहदेव धमलाले यो प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेका हुन्। कार्यक्रम मन्त्री खड्गराज पौडेल 'गनेस'को उपस्थितिमा सम्पन्न भएको थियो, जसमा मन्त्रालयका सचिव मुकुन्द निरौलासहित सहसचिव, शाखा प्रमुख, पर्यटन बोर्ड र निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
प्रतिवेदनअनुसार रसुवा, नुवाकोट, धादिङ र गोरखालगायतका क्षेत्रमा पर्यटन पूर्वाधार, होटल व्यवसाय, यातायात पहुँच, पदमार्ग र पर्यटक व्यवस्थापनमा ठूलो क्षति पुगेको छ। सबैभन्दा बढी क्षति होटल व्यवसायमा भएको आकलन गरिएको छ, जहाँ रु १९ अर्ब ५६ करोड ४ लाख ४८ हजार बराबरको नोक्सानी भएको छ। वैदेशिक पर्यटन आम्दानीमा रु १४ अर्ब ६० करोड २४ लाख ६४ हजार र मानवबल तथा पर्यटक व्यवस्थापनमा रु १२ अर्ब २६ करोड ८४ लाख २४ हजार ५०० बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ। यसबाहेक सम्पदा तथा पूर्वाधारमा रु १ अर्ब ६६ करोड ४० लाख, सवारीसाधनमा रु १ अर्ब ५१ करोड ४० लाख ८० हजार, रेस्टुरेन्ट क्षेत्रमा रु १ अर्ब ३८ करोड ५० लाख २० हजार र लाङटाङ क्षेत्रको व्यावसायिक कारोबारमा रु १ अर्ब २७ करोड ६४ लाख ४० हजार बराबरको क्षति भएको आकलन छ। साथै आन्तरिक पर्यटन राजस्वमा रु १९ करोड ८७ लाख, राफ्टिङ तथा क्याम्पिङ साइटमा रु १५ करोड ५० लाख र ट्रेकिङ ट्रेलमा रु ५ करोड बराबरको क्षति पुगेको प्रतिवेदनमा जनाइएको छ।
बाढी तथा पहिरोका कारण १ हजार ११७ जना नेपाली र विदेशी नागरिक प्रभावित वा सम्पर्कविहीन भएका थिए, जसमध्ये ३१० जनाको सकुशल उद्धार भइसकेको र १३ जना सम्पर्कमा आइसकेका छन्। हालसम्म ७९४ जना सम्पर्कविहीन रहेकोमा ६०६ जना विदेशी र १८८ जना नेपाली रहेका छन्, जबकि उद्धार गरिएकामध्ये २५८ पुरुष र ५२ महिला रहेका छन्। नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरका अनुसार घटना भएको करिब एक घण्टाभित्रै पर्यटक प्रहरी, ट्राभल तथा ट्रेकिङ कम्पनी र कैलाश–मानसरोवर टुर अपरेटरहरूसँग समन्वय गरी खोज तथा उद्धार कार्य सुरु गरिएको थियो।
प्रतिवेदनले पुनरुत्थानलाई केवल संरचना पुनर्निर्माणमा मात्र सीमित नराखी भविष्यमा देखिन सक्ने जलवायुजन्य जोखिमलाई समेत ध्यानमा राखी सुरक्षित र दिगो पर्यटन प्रणाली विकास गर्नुपर्नेमा जोड दिएको छ। निर्देशक ऐरले रसुवा क्षेत्रलाई दीर्घकालीन रूपमा 'क्लाइमेट हेरिटेज'का रूपमा विकास गर्ने अवधारणा अघि सारेका छन् भने बोर्डमा २४ सै घण्टा सञ्चालन हुने क्राइसिस सेल र क्यूआरटीलाई निरन्तरता दिन वार्षिक रु १ देखि ५ करोडसम्म बजेट व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन्।
कार्यक्रममा सहदेव धमलाले प्रभावित व्यवसायीका लागि तत्काल राहत, कर छुट तथा सहुलियतपूर्ण पुनरुत्थान प्याकेज आवश्यक रहेको बताउँदै वैकल्पिक पदमार्ग र यातायात पहुँच शीघ्र सञ्चालनमा ल्याउनुपर्ने र अन्तर्राष्ट्रिय बजारमा नेपाल सुरक्षित रहेको सन्देश प्रभावकारी रूपमा प्रवाह गर्नुपर्ने धारणा राखे। मन्त्री पौडेलले अलपत्र परेका पर्यटकको शीघ्र उद्धार र क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणलाई सरकारको प्राथमिकतामा रहेको बताउँदै बोर्ड र निजी क्षेत्रसँगको सहकार्यमा तयार हुने संयुक्त कार्ययोजना कार्यान्वयन गर्दै आगामी पर्यटकीय सिजनअघि प्रमुख गन्तव्यमा सुरक्षा, सञ्चार र यातायात पहुँच पुनःस्थापित गर्ने प्रतिबद्धता जनाए। साथै प्रमाणमा आधारित सूचना प्रवाह, जलवायु-अनुकूल पूर्वाधार, पूर्वसूचना प्रणाली, पर्यटक प्रहरीको विस्तार र पर्यटन बीमा प्रणालीको संस्थागत विकासको आवश्यकता औँल्याइएको छ, र नेपालको पर्यटन प्रवर्द्धनका लागि भारतका दुई शहरमा प्रेस ब्रिफिङ तथा 'नेपाल नाइट' कार्यक्रम गर्ने प्रस्तावसमेत अघि सारिएको छ।