Sep 23 2026 | २०८३, असोज ७ गते

बाढीबाट प्रभावित माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा खोजी तथा उद्धार कार्य जारी, ४२९ जना अझै सम्पर्कविहीन

बाढीबाट प्रभावित माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा खोजी तथा उद्धार कार्य जारी, ४२९ जना अझै सम्पर्कविहीन

माथिल्लो त्रिशूली–१ आयोजनामा १,४३३ जनामध्ये ८७७ सकुशल उद्धार, २९ को मृत्यु

मंगलबार, असोज ६ २०८३
मंगलबार, असोज ६ २०८३
  • बाढीबाट प्रभावित माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा खोजी तथा उद्धार कार्य जारी, ४२९ जना अझै सम्पर्कविहीन

    काठमाडौं। रसुवा जिल्लास्थित भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा कार्यरत स्वदेशी तथा विदेशी नागरिकहरूको खोजी तथा उद्धार कार्यलाई आयोजनाको प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रा.लि.ले निरन्तरता दिइरहेको छ। विभिन्न सरकारी निकाय, सुरक्षा निकाय, प्राविधिक विशेषज्ञ, उद्धार टोली तथा सम्बन्धित सरोकारवालासँग आवश्यक समन्वय र सहकार्य गर्दै खोजी तथा उद्धार कार्यका लागि कम्पनीका तर्फबाट आवश्यक सम्पूर्ण स्रोतसाधन परिचालन गरिएको छ।

    ut1 search and rescue 3.jpeg

    बाढी आएको समयमा आयोजनामा प्रवर्द्धक कम्पनीसँगै परामर्शदाता ट्र्याक्टावेल तथा जेड कन्सल्ट (Tractable-Jade JV), इन्जिनियरिङ, खरिद तथा निर्माण (EPC) कार्यको निर्माण व्यवसायी कोरियन कम्पनी डुसान (DOOSAN) र उसबाट नियुक्त सिभिल तर्फको सब-कन्ट्र्याक्टर पावर चाइना (Power China) तथा इलेक्ट्रोमेकानिकलतर्फको एन्ड्रिज हाइड्रोलगायतका कम्पनीका नेपाली, कोरियाली, चिनियाँ, भारतीय तथा अन्य मुलुकका नागरिकसमेत गरी करिब १,४३३ जना जनशक्ति आयोजनास्थलमा कार्यरत रहेको अवस्था थियो। त्यसमध्ये हालसम्म ८७७ जनाको सकुशल उद्धार गरिएको, ७८ जना सम्पर्कमा आएको, २९ जना मृत भेटिएको र ४२९ जना अझै सम्पर्कविहीन रहेको अवस्था विद्यमान छ। आयोजनाको बाँधस्थलबाट मुख्य सुरुङतर्फ बाढीले ट्रक नै पल्टाएको फेला परेको छ।

    ut1 search and rescue 2.jpeg

    बाढीबाट अत्यन्त प्रभावित आयोजनामा बाढी आएको समयदेखि नै साइट कार्यालय तथा निर्माणस्थलमा कार्यरत व्यक्तिहरूको खोजी तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, कोरियाली विज्ञ र आयोजनाको टोलीको सहभागितामा संयुक्त खोजी तथा उद्धार कार्य सञ्चालन हुँदै आइरहेको छ। भूमिगत संरचनाभित्र फसेका सम्भावित व्यक्तिहरूको खोजीसँगै बाहिरी सतह, भीर, गाउँ तथा अन्य सम्भावित क्षेत्रमा समेत सुरक्षा निकाय र सम्बन्धित टोलीसँगको समन्वयमा खोजी कार्य निरन्तर जारी छ। खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन तालिम प्राप्त खोजी कुकुरसहितको टोली, पर्वतारोही उद्धार टोली तथा अन्य दक्ष जनशक्ति परिचालन गरिएको छ। अत्यन्त विकट भौगोलिक अवस्था, बाढीबाट भएको व्यापक क्षति, आयोजनास्थलसम्म पुग्ने सडक तथा यातायातको कठिनाइ, आवास तथा अन्य आधारभूत सुविधाको अभाव, भूमिगत संरचनाभित्रको जोखिम र थप पहिरोको सम्भावनालगायतका चुनौतीका बाबजुद संयुक्त टोलीबाट खोजी तथा उद्धार कार्य निरन्तर सञ्चालन भइरहेका छन्।

    ut1 search and rescue 1.jpeg

    कम्पनीद्वारा परिचालित प्रमुख स्रोतसाधन तथा गतिविधिअन्तर्गत आयोजनास्थलसम्म पुग्ने सडक बाढीले पूर्ण रूपमा क्षति पुर्‍याएकाले हेलिकोप्टरमार्फत दुईवटा मिनी एक्साभेटर ढुवानी गरी उत्खनन, खोजी तथा उद्धार कार्यमा परिचालन गरिएको छ। सुरुङभित्र जमेको भग्नावशेष हटाउने तथा फलामका रड काट्न आवश्यक पर्ने विद्युतका लागि जेनेरेटर र ग्यास-कटिङ उपकरण पनि हेलिकोप्टरमार्फत आयोजनास्थलमा ढुवानी गरी परिचालन गरिएको छ। आयोजनाको मुख्य सुरुङ निर्माणका लागि बनाइएको पहुँच सुरुङ (अडिट)-३ को माथिल्लो तटीय क्षेत्रमा जमेको लेदो तथा भग्नावशेष (Debris and boulders) एक्साभेटरको प्रयोग गरी हटाउने कार्य भइरहेको छ।

    तालिमप्राप्त कुकुरसहितको खोजी टोली परिचालन गरी सम्भावित स्थानमा खोजी तथा उद्धार कार्य सञ्चालन गरिएको र उक्त टोलीको आवतजावतका लागि आवश्यक हेलिकोप्टर उडान अनुमति लिइएको छ। मैलुङस्थित आयोजनाको साइट कार्यालय तथा कर्मचारी आवास क्षेत्र (क्याम्प)मा थुप्रिएको लेदो तथा भग्नावशेष हटाउने र जमेको पानी निकास गर्ने कार्य पनि भइरहेको छ। प्राविधिक टोलीमार्फत आयोजनाको भूमिगत विद्युतगृह, मुख्य प्रवेश सुरुङ, बाँधस्थल तथा अन्य सम्बन्धित संरचनाको अवस्था निरीक्षण र मूल्याङ्कन गर्ने कार्य पनि भइरहेको छ। खोजी तथा उद्धार कार्यका लागि आवश्यक उपकरण, प्राविधिक सहयोग र अन्य स्रोतसाधन कम्पनीले आफ्नै खर्चमा परिचालन गरिरहेको छ।

    आयोजनास्थलबाट निकालिएका शवहरू नेपाली सेनाको हेलिकोप्टरमार्फत नुवाकोट जिल्लाको विदुरस्थित नेपाली सेनाको क्याम्प ल्याइएको हुँदा मृतकका परिवार एवं आफन्तजनलाई शवको सनाखतका लागि आवश्यक सम्पर्क, समन्वय र सहजीकरण कार्य भइरहेको छ। मृतकका परिवारलाई आफ्नो संस्कृति रीतिरिवाजअनुसार अन्तिम संस्कार गर्न सहयोग पुग्ने गरी प्रारम्भिक राहतस्वरूप काजक्रिया खर्च उपलब्ध गराइरहेको छ।

    सम्पर्कविहीन व्यक्तिका परिवारजनसँग नियमित सम्पर्क कायम राख्दै आएको छ। परिवारबाट प्राप्त सूचना, सकुशल उद्धार गरिएका कर्मचारीबाट प्राप्त विवरण तथा अन्य विश्वसनीय स्रोतबाट प्राप्त जानकारीका आधारमा सम्भावित खोजी क्षेत्र पहिचान गरी खोजी तथा उद्धारमा परिचालित टोलीलाई आवश्यक सूचना उपलब्ध गराउने व्यवस्था मिलाइएको छ। यस कठिन परिस्थितिमा प्रभावित परिवारजनलाई आवश्यक जानकारी उपलब्ध गराउने, परामर्श प्रदान गर्ने तथा सम्भव भएसम्म मनोसामाजिक सहयोग उपलब्ध गराउने प्रयाससमेत निरन्तर भइरहेको छ।

    ut1 search and rescue.jpeg

    खोजी तथा उद्धार अभियानलाई प्रभावकारी बनाउन सरकारले गठन गरेको वार रुम बैठक, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, विद्युत विकासलगायतका निकायमा कम्पनीका तर्फबाट नियमित सहभागिता जनाउँदै आयोजनाको अवस्था, खोजी तथा उद्धार कार्यको प्रगति, देखिएका चुनौती तथा आवश्यकताबारे जानकारी गराउँदै आइएको छ।

    कम्पनीले खोजी तथा उद्धार कार्यमा संलग्न सम्पूर्ण सरकारी निकाय, सुरक्षा निकाय, प्राविधिक विशेषज्ञ, उद्धार टोली, स्थानीय समुदाय तथा सहयोगी पक्षप्रति हार्दिक आभार व्यक्त गर्दै उपलब्ध सबै स्रोत, साधन, प्रविधि तथा जनशक्तिको अधिकतम परिचालन गर्दै सम्बन्धित सरकारी निकाय र सरोकारवालासँगको समन्वय तथा सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उद्धारका लागि सम्भव सबै उपाय अवलम्बन गर्दै कम्पनी निरन्तर प्रयासरत रहेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट