निःशुल्क औषधि, घरमै सेवा: एउटा वडाको स्वास्थ्य क्रान्ति
निःशुल्क औषधि, घरमै सेवा: एउटा वडाको स्वास्थ्य क्रान्ति
एउटा वडाको स्वास्थ्य क्रान्ति
बुढ्यौलीतिर ढल्कँदै गरेका सीताराम पौडेल लामसुरे आधारभूत स्वास्थ्य केन्द्रको पहिलो तलाबाट ओर्लिंदै थिए। उनको हातमा औषधिको पोको थियो।
क्यान्सरले थलिएकी सीतारामकी श्रीमती कृष्णमाया विगत १२ वर्षदेखि प्रेसरको औषधि खाइरहेकी छिन्। घरमा दीर्घरोगी भएका सामान्य परिवारका लागि नियमित औषधिको खर्च जोहो गर्न निकै गाह्रो पर्छ। तर सीतारामलाई अहिले औषधिका लागि पैसा जुटाउनुपर्ने चिन्ता छैन।
"श्रीमतीका लागि प्रेसरको औषधि लिन आएको हुँ। त्यसमाथि उसलाई क्यान्सर छ। महिनैपिच्छे एक हजार रुपैयाँसम्मको औषधि वडाबाटै पाउँदै आएको छु," सीतारामले सुनाए, "हामी बुढाबुढीलाई कतै जानुपरेको छैन। जाँच पनि यहीँ हुन्छ, औषधि पनि पाइन्छ।"
८० वर्षीया अन्नपूर्ण अधिकारी र ६५ वर्षीया सीता खतिवडा पनि हातमा औषधि बोकेर लामसुरे आधारभूत स्वास्थ्य केन्द्रबाट घर फर्किने तयारीमा थिए। "हामी त पहिल्यैदेखि औषधि यहीँबाट लैजान्छौं। कहिल्यै पैसा तिरेको छैन," उनीहरूले सुनाए।
यो हेटौंडा उपमहानगरपालिका–९ को कथा हो, जहाँ बिरामी पर्दा उपचारका लागि पैसा खोज्नुपर्दैन। दीर्घरोग लागेका नागरिकले नियमित औषधि किन्न महिनैपिच्छे खर्च जुटाउनुपर्दैन। स्वास्थ्य परीक्षण गराउँदा पनि शुल्क तिर्नुपर्दैन। यो सुविधा सर्वसाधारणले साढे चार वर्षदेखि निरन्तर पाइरहेका छन्।
२०७९ सालदेखि वडाले स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर लामसुरे आधारभूत स्वास्थ्य केन्द्रलाई 'गाउँको अस्पताल'को अवधारणामा विकास गर्दै आएको छ। स्वास्थ्य केन्द्रकी अहेब अञ्जिता रिमालका अनुसार दैनिक ४० देखि ५० जनासम्म बिरामी उपचार, स्वास्थ्य परीक्षण र दीर्घरोगको औषधि लिन यहाँ आउने गरेका छन्।
करिब साढे चार वर्षमा यो स्वास्थ्य केन्द्रबाट १३ हजार जनाले स्वास्थ्य उपचार र औषधिको निःशुल्क सेवा लिएका छन्। सरकारले उपलब्ध गराउने ९८ प्रकारका औषधि यहाँ निःशुल्क पाइन्छ। त्यसमा वडा कार्यालयले आफ्नै बजेटबाट खरिद गर्ने ८२ प्रकारका औषधि पनि थपिन्छन्। प्रोस्टेडका बिरामीका लागि आवश्यक औषधि, दमका बिरामीले प्रयोग गर्ने रोटा क्याप, आस्थालिनलगायत महँगो पर्ने औषधि पनि बिरामीले पैसा नतिरी पाउँछन्। उच्च रक्तचाप, मधुमेह, मुटुरोग, मानसिक रोग, कोलेस्ट्रोल, बाथ, थाइराइडलगायत रोगका बिरामीका लागिसमेत औषधि उपलब्ध गराइन्छ।
"कतिपय बिरामीले महिनामा ५ देखि ८ हजार रुपैयाँसम्मका औषधि यहाँबाट पाउँदै आउनुभएको छ," वडाध्यक्ष सुकराम केसी भन्छन्, "त्यो रकम सानो होइन। महिनामा ५ हजार रुपैयाँको औषधि किन्न नसक्ने परिवारका लागि निःशुल्क औषधि उपचार दिन सकेका छौं।"
पाँच लाखबाट सेवा सुरु, स्वास्थ्य केन्द्रमै विशेषज्ञ
निःशुल्क स्वास्थ्य सेवा विस्तार गर्ने यो अभियान २०७९ सालमा ५ लाख रुपैयाँ बजेटबाट सुरु भएको थियो। एक वर्षपछि, २०८० सालमा बजेट बढाएर १० लाख रुपैयाँ पुर्याइएको वडाध्यक्ष केसीले जानकारी दिए। २०८३ सालसम्म आइपुग्दा स्वास्थ्य सेवाका लागि वडाले २० लाख रुपैयाँ बजेट छुट्याएको छ। वडाको आफ्नै प्रयाससँगै प्रदेश सरकार र निजी क्षेत्रको सहयोग पनि जोडिएको छ।
बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ मा १० लाख रुपैयाँ सहयोग गरेको थियो, जुन रकमबाट स्वास्थ्य उपकरण खरिद गरिएको छ। चालु आर्थिक वर्ष २०८३/८४ का लागि पनि मन्त्रालयले १० लाख रुपैयाँ बजेट छुट्याएको वडाध्यक्ष केसी बताउँछन्। हेटौंडा औद्योगिक क्षेत्रस्थित ब्रजर पेन्ट्स प्रालिले दिएको ५ लाख रुपैयाँ सहयोगबाट सुत्केरी महिलाको स्वास्थ्य परीक्षणका लागि उपकरण खरिद गरिएको छ। वडा कार्यालयले हेटौंडा–९ मै रहेको मानव सेवा आश्रमको केन्द्रीय कार्यालयलाई पनि वर्षेनी १० लाख रुपैयाँ सहयोग गर्दै आएको छ।
स्वास्थ्य केन्द्र आउन नसक्नेलाई घरमै सेवा
हिँडडुल गर्न नसक्ने, अशक्त तथा दीर्घरोगीका लागि स्वास्थ्यकर्मी घरमै पुग्ने गरेको अध्यक्ष केसीले बताए। अक्सिजन लगाउनुपर्ने बिरामीलाई समेत घरमै पुगेर सेवा दिइन्छ। "यहाँ धेरै दीर्घरोगी घरमै हुनुहुन्छ। स्वास्थ्य केन्द्रसम्म आउन नसक्नेलाई घरमै पुगेर उपचार गर्छौं," अहेब रिमाल भन्छिन्। घरमै पुगेर सेवा दिन चार जना स्वास्थ्य स्वयंसेविका खटिएका छन्। वडाले दुई ठाउँमा टोल क्लिनिकसमेत सञ्चालन गरेको छ — शिव पाञ्चायन मन्दिर र कालिमाई मन्दिरमा महिनाको दुई पटक।
क्यान्सरबाट २० जनाको मृत्यु, तथ्यांकले देखायो बाटो
वडाध्यक्ष केसीका लागि स्वास्थ्यमा गरिएको लगानीको पछाडि एउटा गहिरो पीडा छ। २०७९ देखि २०८३ सालसम्म हेटौंडा–९ का २० जनाले क्यान्सरका कारण ज्यान गुमाएको उनी बताउँछन्। "क्यान्सरबाट वर्षेनी वडावासीको मृत्यु हुँदा असह्य पीडा हुन्छ," केसी भन्छन्, "त्यसैले स्वास्थ्य र शिक्षामा वडाको क्षमताले भ्याएसम्म लगानी गरेर काम गर्दै आएका छौं।"
२०७९ सालमा वडा कार्यालयले २४ वटा टोल विकास संस्थाभित्र रहेका घरधुरीको सर्वेक्षण गरेको थियो। त्यही तथ्यांकले वडालाई आफ्नो स्वास्थ्य प्राथमिकता पहिचान गर्न सहयोग गर्यो। अहिले उच्च रक्तचापका १०८ जना नयाँ र १,१६१ जना पुनः उपचारमा छन् भने मधुमेहका ६४ जना नयाँ र ४७४ जना पुनः उपचारमा रहेका छन्।
दीर्घरोगीका लागि औषधि मात्रै पर्याप्त नहुने भएपछि वडा कार्यालयले महिनामा दुई पटक बिरामीलाई विशेषज्ञ चिकित्सकको परामर्श गराउँदै आएको छ। बागमती प्रदेश सरकार मातहतको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग वार्षिक सम्झौता गरेर स्वास्थ्य केन्द्रमै चिकित्सक ल्याउने गरिएको हो। स्वास्थ्य केन्द्रमा ल्याब सेवा पनि छ, जहाँ २० प्रकारका स्वास्थ्य परीक्षण निःशुल्क हुन्छन्।
