Sep 19 2024 | २०८१, असोज ३ गते

बेइजिङमा मुसलधारे वर्षाका कारण पाँच उद्धारकर्मीसहित ३८ जनाको मृत्यु

बेइजिङमा मुसलधारे वर्षाका कारण पाँच उद्धारकर्मीसहित ३८ जनाको मृत्यु

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २४ २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २४ २०८०
  • बेइजिङमा मुसलधारे वर्षाका कारण पाँच उद्धारकर्मीसहित ३८ जनाको मृत्यु

    बेइजिङ । भारी वर्षाका कारण बेइजिङमा आएको भीषण बाढी, डुबान र पहिरोमा परी मङ्गलबार साँझसम्ममा ३३ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बुधवार जानकारी दिएका छन् । 

    images
    images

    त्यसैगरी उक्त प्राकृतिक विपत्तिपछिको उद्धार तथा राहत कार्यमा सहभागी पाँच जनाको मृत्यु भएको चिनियाँ प्रशासनले जनाएको छ । बेइजिङका उपमेयर जिया लिनमाओले एक पत्रकार सम्मेलनमा उद्धारकर्तासहित अन्य १८ जना अझै हराइरहेको जानकारी दिए ।  

    मुख्यतया, गत हप्ता परेको वर्षापछि आएको बाढी र घर भत्किएका कारण उनीहरूका ज्यान गएको हो ।  जुलाई २९ देखि अगस्ट २ सम्म बेइजिङमा आएको ‘डोक्सुरी आँधी’का कारण मुसलधारे वर्षा भएको थियो । बेइजिङमा १४० वर्षअघि रेकर्ड सुरु भए यताको यो सबैभन्दा ठूलो वर्षा हो । 

    वर्षाका कारण आएको बाढीले करिब १२ लाख ९० हजार मानिस र करिब १५ हजार हेक्टर जमिनमा लगाइएको बालीनालीमा क्षति पुर्‍याएको छ ।  जियाका अनुसार, सम्पत्ति र भौतिक क्षतिको आकलन भइरहेको र घोषित मृतक सङ्ख्यामा वृद्धि हुने सम्भावना देखिएको छ । 

    मुसलधारे वर्षाका कारण हिमाली क्षेत्रका पूर्वाधारमा ठुलो क्षति पुगेको छ, ५०७ गाउँमा पानी आपूर्ति प्रभावित भएको छ, २७३ गाउँ र १६ आवासीय समुदायमा विद्युत् कटौती भएको छ भने ३४२ गाउँमा सञ्चार सेवा अवरुद्ध भएको छ । वर्षाले सडक र पुलहरूमा क्षति पुगेपछि २५६ वटा गाउँमा यातायात सञ्चालनमा समस्या भएको छ 

    अथक उद्धार र पुनर्स्थापना प्रयासहरू जारी रहेको र अधिकांश गाउँहरूमा सफलतापूर्वक बिजुली आपूर्ति, खानेपानी, दूरसञ्चार सेवा र यातायात बहाल भएको छ ।

    बेइजिङले प्रभावित जनसङ्ख्याका लागि अत्यावश्यक दैनिक आवश्यकता, आपत्कालीन आपूर्ति र चिकित्सा उपचार उपलब्ध भएको सुनिश्चित गरेको छ र विपद्पछिको महामारी रोकथाम कार्य सुरु गर्न द्रुत कदम चालेको उपमेयरले बताए ।

    “बेइजिङ सहरले पुनरुत्थान र पुनर्निर्माण योजना बनाएको छ र यसको कार्यान्वयनलाई गति दिनेछ,” जियाले भने ।

    सिचुवानमा बाढीका कारण ७ जनाको मृत्यु

    चीनको दक्षिण पश्चिमी सिचुआन प्रान्तमा बुधवार आएको बाढीमा परी सात जनाको मृत्यु भएको चीनको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । सरकारी प्रसारक सीसीटीभीले सात जनाको मृत्यु भएको र अन्य चार जनालाई पानीबाट उद्धार गरिएको उल्लेख गर्दै ‘स्थानीय सार्वजनिक सुरक्षा, अग्नि नियन्त्रक र अन्य विभागहरूले खोजी र उद्धार कार्य जारी राखेको’ जनाएको छ ।

    प्रान्तीय राजधानी छेन्दुको दक्षिण पश्चिममा रहेको तटबन्ध नजिकै बिहान १० बजे अप्रत्याशित आएको बाढीले १० जनाभन्दा बढी मानिसलाई बगाएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

    बाढी आउँदा फोटो खिचिरहेका ती व्यक्ति स्थानीय एक लोकप्रिय स्थलको भ्रमण गर्ने पर्यटकहरू थिए ।

    सीसीटीभीले शेयर गरेको भिडियोमा शक्तिशाली धारले पानीलाई तल धकेलेको र पानीको किनाराबाट मानिसहरू चिच्याएका कारण धेरै मानिसहरू आफ्नो टाउको पानीमाथि राख्न सङ्घर्ष गरिरहेको देखिएको छ । जल प्रलयको कारण तत्काल स्पष्ट हुन सकेको छैन ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार