एक्सपेङले चिनियाँ प्रतिस्पर्धी कम्पनीलाई ७४ करोड अमेरिकी डलरमा किन्ने
एक्सपेङले चिनियाँ प्रतिस्पर्धी कम्पनीलाई ७४ करोड अमेरिकी डलरमा किन्ने
काठमाडौँ । चिनियाँ विद्युतीय कार कम्पनी एक्सपेङले भाडामा यातायात सेवा प्रदान गर्ने (राइड–हेलिङ्ग प्लेटफर्म) दिदीको विद्युतीय सहायक कम्पनी ७४ करोड अमेरिकी डलरभन्दा बढीमा खरिद गर्ने र नयाँ ब्रान्डका सवारी साधन सार्वजनिक गर्ने सोमबार घोषणा गरेको छ ।
सन् २०१५ मा दक्षिणी प्रान्त गुआङडोङमा स्थापना भएको एक्सपेङ विश्वको सबैभन्दा ठूलो कार बजारमा विद्युतीय सवारी साधनमा आएको उछालको फाइदा उठाउन हालैका वर्षहरूमा उदाएका दर्जनौं चिनियाँ कम्पनीमध्ये एक हो ।
दिदी चीनको अग्रणी कार–हेलिङ्ग एप हो जसले विद्युतीय सवारी डिजाइन गर्ने सहायक कम्पनी पनि सञ्चालन गर्दछ ।
हङकङ स्टक एक्सचेन्जलाई दिएको जानकारीअनुसार एक्सपेङले दिदीसँग ७४ करोड ४० लाख अमेरिकी डलरमा उक्त सहायक कम्पनी किन्ने सम्झौता गरेको हो । यसले दीदीसँग साझेदारी गर्दै अर्को वर्ष नयाँ ब्रान्डको विद्युतीय कारहरू बजारमा ल्याउनेछ ।
चिनियाँ स्टक बजारले सम्झौताको स्वागत गरेको छ । जसले चिनियाँ निर्मातालाई सम्भावित प्रतिस्पर्धीलाई हटाउन र यसको उन्नत प्रविधिमा पहुँच प्राप्त गर्न अनुमति दिन्छ । एक्सपेङको शेयर सोमबार बिहान करिब १३ प्रतिशतले बढेको छ ।
सिलिकन भ्याली र एम्स्टर्डममा यसको कार्यालयहरू रहेको यस कम्पनीले युरोपमा पनि आफ्ना केही उत्पादनहरूको बजारीकरण गर्छ र करिब १४ हजार ४०० मानिसहरूलाई रोजगार दिँदै आएको छ । सिलिकन भ्याली र एम्स्टर्डममा यसको कार्यालयहरू छन् ।
एक्सपेङले सन् २०२३ को पहिलो छ महिनामा ४१ हजार ४३५ वटा गाडी बिक्री गरेको छ, जुन गत वर्षको तुलनामा ४० प्रतिशतले कम हो ।
हरितगृह ग्यास उत्सर्जन गर्ने विश्वकै सबैभन्दा ठूलो देश चीनले सन् २०३५ सम्ममा अधिकांश कार बिक्री विद्युतीय र हाइब्रिड बनाउने लक्ष्य राखेको छ ।
बीवाईडी, नियो, एक्सपेङ र अन्य फर्मजस्ता कम्पनीहरूद्वारा सञ्चालित उदार खरीद अनुदानले हालैका वर्षहरूमा विद्युतीय सवारी साधानको उत्पादनमा उछाल ल्याएको छ ।