Feb 24 2025 | २०८१, फागुन १२ गते

images
images

रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु 

रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु 

एभरेष्ट हेडलाइन्स
आइतबार, फागुन ४ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, फागुन ४ २०८१
  • रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु 

    भारतको राजधानी नयाँ दिल्लीस्थित एक रेलवे स्टेसनमा शनिबार राति भएको भागदौडका क्रममा परी मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ ।  विश्वको सबैभन्दा ठूलो धार्मिक जमघट महाकुम्भ मेलामा जान रेल चढ्न भेला भएका धार्मिक पर्यटकबीच रेल चढ्ने क्रममा भागदौड भएको हो ।

    images
    images

    उत्तरी शहर प्रयागराजमा हुने कुम्भ मेलाले प्रत्येक १२ वर्षमा दशौँ लाख हिन्दू धर्मावलम्बीहरूलाई  आकर्षित गर्दछ । फेब्रुअरी २६ मा समाप्त हुने उक्त कार्यक्रमका लागि रेल चढ्नका लागि भीडले सङ्घर्ष गरिरहेका बेला नयाँ दिल्लीको रेल स्टेसनमा भागदौड भएको हो ।
     
    “अस्पतालमा १५ जनाको मृत्यु भएको म पुष्टि गर्न सक्छु। तिनीहरूलाई कुनै पनि देखिने चोट छैन । हाइपोक्सिया वा कुनै चोटका कारण मृत्यु भएको हुन सक्छ तर शव परीक्षणपछि मात्र यसको पुष्टि हुनेछ,” नयाँ दिल्लीस्थित लोकनायक अस्पतालकी डेपुटी मेडिकल सुपरिटेन्डेन्ट डा. रितु सक्सेनाले एएफपीसँग बताइन् । 

     ’घटनामा अन्य ११ जना घाइते भएका छन्। तीमध्ये अधिकांशको अवस्था स्थिर छ र हाडजोर्नीमा चोट लागेको छ,” उनले भनिन् । शहरको अर्को अस्पतालका एक अधिकारीलाई उद्धृत गर्दै एनडीटिभीले भागदौडमा परी थप तीन जनाको मृत्यु भएको जनाएको छ ।

     मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन् । “म सन् १९८१ देखि कुल्लीको काम गर्दै आएको छु, तर मैले यसअघि यस्तो भीड कहिल्यै देखेको थिइनँ,” रेलवे स्टेसनका एक पोर्टरलाई उद्धृत गर्दै ‘टाइम्स अफ इन्डिया’ले लेखेको छ ।

    प्रयागराजका लागि छुटेको विशेष रेलको प्लेटफर्म एकाएक सारिएपछि मानिसहरु आपसमा ठोक्किन थाले र एस्केलेटर र सिँढीमा खसेका थिए। रेलमन्त्री अश्विनी वैष्णवले दुर्घटनाको कारणबारे उच्चस्तरीय छानबिनको आदेश दिइएको बताएकी छन् । 

    वैष्णवका अनुसार भक्तजनको भीड हटाउन नयाँ दिल्लीबाट थप विशेष रेल सञ्चालन भइरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भागदौडबाट आफू मर्माहत भएको बताएका छन्। 

    “शोकको यस घडीमा म आफ्ना प्रियजनहरू गुमाएका व्यक्तिहरूप्रति समवेदना व्यक्त गर्छु । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु,” उनले लेखेका छन् । 

    राजधानी क्षेत्र दिल्लीका गभर्नर विनयकुमार सक्सेनाले विपद् व्यवस्थापनका कर्मचारीलाई तैनाथ गर्न भनिएको र सबै अस्पतालहरू सम्बन्धित आपतकालीन अवस्थालाई सम्बोधन गर्न तयार रहेको बताएका छन् । 

    छ हप्तासम्म चल्ने महाकुम्भ मेला हिन्दू धार्मिक क्यालेन्डरको सबैभन्दा महत्त्वपूर्णमध्येको पर्व हो । अधिकारीहरूले गत महिना देखि नै करिब ५० करोड भक्तजनले यस पर्वको अवलोकन गरिसकेको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट