Aug 11 2026 | २०८३, साउन २६ गते

उपत्यकामा बर्डफ्लू सङ्क्रमण फैलिने जोखिम, नियन्त्रणमा खटियो पशुसेवा विभाग

उपत्यकामा बर्डफ्लू सङ्क्रमण फैलिने जोखिम, नियन्त्रणमा खटियो पशुसेवा विभाग

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार १२ २०८३
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार १२ २०८३
  • उपत्यकामा बर्डफ्लू सङ्क्रमण फैलिने जोखिम, नियन्त्रणमा खटियो पशुसेवा विभाग

    काठमाडौं । पशुसेवा विभागले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लू सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढाएको छ । विभागले विभिन्न प्रयोगशालामार्फत नियमित नमूना परीक्षण गरी निगरानी बढाएको हो ।

    images

    काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेमा सङ्क्रमणको जोखिम बढी देखिएकाले रोग नियन्त्रण कार्यलाई उच्च प्राथमिकता राखिएको विभागका महानिर्देशक डा. उमेश दाहालले बताए । उनका अनुसार तीन महिना अघि सुरु भएको सङ्क्रमण विभिन्न ११ जिल्लामा फैलिएको छ ।

    करिब एक सय कुखुरा फार्ममा बर्डफ्लू सङ्क्रमण पुष्टि भएपछि ती फार्ममा पन्छी, अण्डा, दाना नष्ट गरिएका छन् । करिब डेढ महिना नयाँ चल्ला नराख्न आग्रह गरेको विभागले उच्च सतर्कता अपनाउन आह्वान गरेको छ ।

     

    काठमाडौं उपत्यकाका चन्द्रागिरि, कीर्तिपुर, टोखा, तारकेश्वर, गोदावरी, चाँगुनारायण, सूर्यविनायकलगायत क्षेत्रका फार्ममा सङ्क्रमण पुष्टि भएको छ ।

    बर्डफ्लूका उपचार र प्रभावकारी खोप नभएको हुँदा भाइरस कडा सङ्क्रामक हुने र कुखुरालगायत पन्छी नष्ट उत्तम विकल्प हुने जनाइएको छ । सङ्क्रमण मानिसमा पनि सर्न सक्ने सम्भावना रहेको बताउँदै विभागका महानिर्देशक दाहालले सङ्क्रमणलाई चाँडो नियन्त्रण गर्न पन्छी व्यवसायी तथा उपभोक्तालाई थप सावधानी अपनाउन आग्रह गरे ।

    विभागका महानिर्देशकको संयोजकत्वमा केन्द्रमा बर्डफ्लू समन्वय समिति तथा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लामा बर्डफ्लू समन्वय समिति गठन गरिएको छ ।

    नष्ट गरिएका कुखुरा, अण्डा तथा दानाको प्रमाणका आधारमा जिल्लाबाट समितिले निर्धारण गर्ने दररेटका आधारमा लागत मूल्यको ७५ प्रतिशतसम्म किसानलाई क्षतिपूर्ति दिने व्यवस्था रहेको विभागका सूचना अधिकारी मुकुल उपाध्यायले जानकारी दिए ।

    -रासस

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट