बाढीग्रस्त नुवाकोट-रसुवामा ५०० सोलार पावर बैंक हस्तान्तरण
बाढीग्रस्त नुवाकोट-रसुवामा ५०० सोलार पावर बैंक हस्तान्तरण
काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले हालैको बाढी तथा विपद्बाट प्रभावित नुवाकोट र रसुवा जिल्लामा वैकल्पिक विद्युत सेवा उपलब्ध गराउने उद्देश्यले ५०० थान सोलार पावर बैंक हस्तान्तरण गरेको छ। मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत यी पावर बैंक विपद्प्रभावित क्षेत्रमा पुर्याइएको हो।
बाढीका कारण यी दुई जिल्लाका धेरै स्थानमा विद्युत आपूर्ति लाइन क्षतिग्रस्त भई सेवा अवरुद्ध भएको थियो। यस्तो अवस्थामा नागरिकको तत्कालीन विद्युत आवश्यकता सम्बोधन गर्न पावर बैंक वितरण गरिएको मन्त्रालयले जनाएको छ। एउटा सोलार पावर बैंकबाट मोबाइल फोन चार्ज गर्नुका साथै करिब चार देखि पाँचवटासम्म बत्ती बाल्न सकिने मन्त्रालयको भनाइ छ, जसले गर्दा विद्युत नपुगेका र दुर्गम बस्तीका परिवारहरूले पनि आधारभूत उज्यालो र सञ्चार सुविधाबाट वञ्चित हुनुपर्ने छैन।
विपद्का कारण नियमित विद्युत सेवा अवरुद्ध भएका क्षेत्रका नागरिकलाई अत्यावश्यक सञ्चार तथा प्रकाशको सुविधा उपलब्ध गराउनमा यी पावर बैंकले सहयोग पुर्याउने मन्त्रालयले उल्लेख गरेको छ। विशेष गरी उद्धार तथा राहत कार्यमा संलग्न स्थानीय निकाय, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई पनि सञ्चार माध्यम सक्रिय राख्न यसले मद्दत पुर्याउने अपेक्षा गरिएको छ।
प्राकृतिक विपद्को अवस्थामा प्रभावित नागरिकको दैनिक जीवनलाई सहज बनाउन तत्काल वैकल्पिक ऊर्जा सेवा उपलब्ध गराउने र विद्युत पहुँचमा निरन्तरता दिने उद्देश्यले यो पहल गरिएको मन्त्रालयको भनाइ छ। मन्त्रालयले थप विपद्प्रभावित क्षेत्रहरूको अवस्था हेरी आवश्यकताअनुसार यस्तै सहयोग विस्तार गर्दै लैजाने जनाएको छ।

