एनआरएनएको राहत अभियान २०औं दिनसम्म पनि निरन्तर
एनआरएनएको राहत अभियान २०औं दिनसम्म पनि निरन्तर
काठमाडौं — भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटमा प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सञ्चालन गरिरहेको राहत तथा मानवीय सहयोग अभियानअन्तर्गतका गतिविधिहरू हिजो १९ र आज २० औं दिनमा पनि निरन्तर जारी रह्यो।
भोटेकोशी बाढीबाट प्रभावित समुदायलाई लक्षित गरी स्वास्थ्य सेवा उपलब्ध गराउन एनआरएनएको स्वास्थ्य टोली रसुवाको उत्तरगया गाउँपालिका–३, डाँडागाउँतर्फ प्रस्थान गरेको छ। यद्यपि बाटोको खराब अवस्थाको कारण टोली भोलि मात्र गन्तव्यमा पुग्नेछ। ग्लोबल स्वास्थ्य विभागकी सहसंयोजक प्रसुना कंडेलको संयोजकत्वमा गएको टोलीले डाँडा गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरी बाढी प्रभावित स्थानीयको स्वास्थ्य परीक्षण, आवश्यक औषधि वितरण तथा मनोसामाजिक परामर्श सेवा प्रदान गर्नेछ। उक्त टोलीमा डा. कावेरी कार्की, डा. शोभित गुरुङ, केशव राज खनाल र हरि खोजु सहभागी हुनुहुन्छ। स्वास्थ्य शिविरका लागि आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीको व्यवस्थापन गरिएको छ। यसै क्रममा हाप्सा नेपालले बाढी प्रभावित १०० परिवारका लागि स्वास्थ्य तथा हाइजिन किट उपलब्ध गराएको छ। टोलीले प्रभावित समुदायको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै आवश्यकताअनुसार स्वास्थ्य सेवा तथा परामर्श उपलब्ध गराउनेछ। यसअघि हिजो शिविरका लागि आवश्यक सम्पूर्ण तयारी सकेर आज विहान उक्त टोली विहान ७ बजे नै रसुवा प्रस्थान गरेको थियो।

भोटेकोशी बाढी प्रभावितका लागि पूर्वप्रतिबद्धता अनुसारको सहयोग रकम प्राप्त हुने क्रम जारी रहेको छ। पदाधिकारीहरू, विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी) तथा विदेशमा रहेका नेपालीहरूको व्यक्तिगत तर्फबाट हालसम्म आठ करोड उनन्चास लाख बत्तीस हजार चार सय दुई रुपैयाँ सहयोगको प्रतिबद्धता प्राप्त भएकोमा ३ करोड १६ लाख ८३ हजार ७१९ रुपैयाँभन्दा बढी रकम संकलन भइसकेको छ। बाँकी प्रतिबद्धता रकम संकलन तथा जम्मा गर्ने प्रक्रिया जारी रहेको छ। पहिलो चरणमा एनसीसी साउदी अरेबिया, बहराइन, म्यानमार र नर्वेले फन्डरेजिङ अभियान सम्पन्न गरेका छन्। बहराइन (२५ लाख ७९ हजार ३२८ रुपैयाँ), ओमान (१३ लाख १५ हजार रुपैयाँ), नर्वे (१७ लाख ८९ हजार ८४२ रुपैयाँ), साउदी अरेबिया (१० लाख रुपैयाँ) र म्यानमारबाट (६ लाख १ हजार रुपैयाँ) प्राप्त भएको छ। बाँकी एनसीसीहरूबाट प्रतिबद्धता गरिएको रकम संकलन तथा जम्मा गर्ने प्रक्रिया जारी रहेको छ। संघका कोषाध्यक्ष तथा सम्बन्धित प्रतिनिधिहरूमार्फत निरन्तर समन्वय र पत्राचार भइरहेकोले बाँकी प्रतिबद्धता रकम पनि क्रमशः कोषमा जम्मा हुने क्रममा रहेको छ।
