Sep 16 2026 | २०८३, भदौ ३१ गते

चितवनमा भोटेकोशी बाढीका पहिचान नखुलेका १९९ शव व्यवस्थापन, हालसम्म १२ जनाको मात्र सनाखत

चितवनमा भोटेकोशी बाढीका पहिचान नखुलेका १९९ शव व्यवस्थापन, हालसम्म १२ जनाको मात्र सनाखत

सोमबार, भदौ १५ २०८३
सोमबार, भदौ १५ २०८३
  • चितवनमा भोटेकोशी बाढीका पहिचान नखुलेका १९९ शव व्यवस्थापन, हालसम्म १२ जनाको मात्र सनाखत

    चितवन, भदौ १५ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनसम्म बगेर आएका शवहरूमध्ये पहिचान हुन नसकेकालाई व्यवस्थापन गर्ने कार्य सम्पन्न भएको छ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार हालसम्म फेला परेका जम्मा २७२ शवमध्ये सनाखत हुन नसकेका १९९ वटा शव शनिबार र आइतबार गरी भरतपुर महानगरपालिका–१ स्थित देवघाट जङ्गलमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ। शनिबार ९६ वटा र आइतबार १०३ वटा। हालसम्म परिवारजनले चिनी बुझेका शव संख्या जम्मा १२ मात्र रहेको छ, जसमध्ये ११ पुरुष र एक बालिका छन्।

    फेला परेका जम्मा २७२ शवको विवरण हेर्दा ११० पुरुष, ६२ महिला, सात बालक, छ बालिका र ८७ वटा पहिचान गर्न कठिन हुने खालका मानव अवशेष रहेका छन्।

    शव व्यवस्थापनअघि सुरक्षित र वैज्ञानिक प्रक्रिया अपनाइएको थियो। रामनगर–देवघाट सडकखण्ड नजिकको जङ्गलमा डोजरको प्रयोग गरी करिब डेढ मिटर गहिरा खाल्डाहरू खनी प्रत्येक शवलाई "डेड बडी ब्याग"मा राखेर मात्र व्यवस्थापन गरिएको थियो। भविष्यमा आफन्तले पहिचान गर्न सजिलो होस् भनी हरेक शवलाई छुट्टै संकेत नम्बर दिई अभिलेख राखिएको छ, साथै प्रक्रियाको प्रमाणका लागि भिडियो, तस्बिर र जीपीएस लोकेसन सुरक्षित गरिएको छ। पहिचानका लागि सबै शवबाट डीएनए नमुना पहिले नै संकलन गरिसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

    चितवनको यो घटना समग्र विपद्को एउटा साना अंश मात्र हो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार बिहान ९ बजेसम्म सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार, समग्र रसुवा बाढीमा हालसम्म ९०३ जनाको शव फेला परिसकेको छ, जसमध्ये नवलपरासी पूर्वमा २०७, नवलपरासी पश्चिममा १५१, नुवाकोटमा ९५, गोरखामा ६२, धादिङमा ५५, तनहुँमा ३७ र रसुवामा २४ जना रहेका छन्।

    यसैगरी, प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बेपत्ता भएकाहरूको यकिन संख्या अझै निर्धारण हुन सकेको छैन। विभिन्न आधिकारिक निकायबाट प्राप्त प्रारम्भिक विवरणमा नै ४ हजार २०२ जना बेपत्ता रहेको उल्लेख छ, जुन खोजी तथा उद्धार कार्य जारी रहँदा थप परिवर्तन हुन सक्ने प्राधिकरणले जनाएको छ। अहिलेसम्म १० हजार ४५१ जनाको उद्धार भइसकेको छ।

    नदी किनारमा अझै शव फेला पर्ने क्रम जारी रहेकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली खोजी तथा व्यवस्थापन कार्यमा परिचालित रहेको प्रहरीले जनाएको छ। राहत सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका आधिकारिक बैंक खातामा सहयोग जम्मा गर्न सक्ने प्रशासनले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार