परराष्ट्र मन्त्रालयद्वारा आपतकालीन प्रतिकार्य टोली गठन, बेपत्ता विदेशीको खोजीमा जोड
परराष्ट्र मन्त्रालयद्वारा आपतकालीन प्रतिकार्य टोली गठन, बेपत्ता विदेशीको खोजीमा जोड
बेपत्ता विदेशीको खोजीमा जोड
काठमाडौं। रसुवा जिल्लामा गएको भोटेकोशी बाढीबाट ठूलो जनधन तथा भौतिक क्षति पुगेको र विदेशी नागरिकसमेत बेपत्ता भएको विवरण प्राप्त भएपछि परराष्ट्र मन्त्रालयले विदेशी नागरिकको खोजी, उद्धार तथा कन्सुलर सहयोगका लागि आपतकालीन प्रतिकार्य टोली (इआरटी) गठन गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै तत्काल प्रभावबाट गठन गरिएको यो टोलीले बाढीबाट प्रभावित वा बेपत्ता विदेशी नागरिकसँग सम्बन्धित सबै विषयमा काम गर्नेछ।
यसका साथै मन्त्रालयमा एक अलग्गै आपतकालीन नियन्त्रण कक्ष पनि स्थापना गरिएको छ, जसले सम्बन्धित निकाय तथा बेपत्ता व्यक्तिका परिवारहरूसँग निरन्तर समन्वय गरिरहेको छ। परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार सरकारले खोज, उद्धार र राहत कार्यमा आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट पनि सहयोग लिइरहेको छ।
शव व्यवस्थापनका लागि आवश्यक एयरटाइट ब्यागहरू प्राप्त भइसकेका छन् भने थप ब्यागहरू पठाउने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ। साथै, डिएनए विश्लेषणमा विशेषज्ञता हासिल गरेका भारतका १८ जना फरेन्सिक विशेषज्ञको टोली पनि नेपाल आइपुगेको छ, जसले पहिचान नभएका शवहरूको पहिचान प्रक्रियामा सहयोग पुऱ्याइरहेको छ।
परराष्ट्रमन्त्री खनालले बेपत्ता नेपाली तथा विदेशी दुवै नागरिकको खोजी, उद्धार र पहिचानका लागि सरकारले सबै उपलब्ध स्रोतसाधन परिचालन गरेको प्रतिबद्धता जनाएका छन्।