Sep 16 2026 | २०८३, भदौ ३१ गते

घर छैन भने भाडा सहयोग: विदुर नगरपालिकाको राहत योजना

घर छैन भने भाडा सहयोग: विदुर नगरपालिकाको राहत योजना

विदुर नगरपालिकाको राहत योजना

सोमबार, भदौ २२ २०८३
सोमबार, भदौ २२ २०८३
  • घर छैन भने भाडा सहयोग: विदुर नगरपालिकाको राहत योजना

    भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको आकस्मिक बाढीका कारण सिर्जित समस्याको समाधानका लागि विदुर नगरपालिकाले पाँच बुँदे निर्णय सार्वजनिक गरेको छ। नगर कार्यपालिकाको भदौ २१ गते बसेको १३४औं बैठकले यी निर्णय गरेको हो।

    निर्णयअनुसार, विदुर नगरपालिकाभित्र बस्न योग्य घर नभएका विदुरवासीहरूलाई नगरपालिकाले घर भाडामा लिई बस्नका लागि तत्कालका लागि प्रतिपरिवार रु. १० हजारका दरले घरभाडा रकम उपलब्ध गराउनेछ। साथै परिवारलाई आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा, किचेन सेट र हाइजिन सेटलगायतका सामग्री पनि उपलब्ध गराइनेछ।

    कोठा भाडामा लिँदा वा दिँदा कसैले प्रचलित वा चलनचल्तिको भाडादरभन्दा बढी लिएको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने नगरपालिकाले जनाएको छ। यसैगरी तीनै तहको सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था र दाताहरूको सहकार्यमा अस्थायी आवास निर्माण गरी प्रभावितहरूको पुनःस्थापना गरिने निर्णयमा उल्लेख छ।

    अस्थायी आवास केन्द्र (होल्डिङ सेन्टर) बाहेकका विद्यालयहरूमा भदौ २४ गतेदेखि पठनपाठन सञ्चालन हुनेछ। हाल होल्डिङ सेन्टरका रूपमा प्रयोग भइरहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा भने केही दिनभित्रै अन्यत्र व्यवस्थापन गरी विद्यालय सञ्चालनमा ल्याइने नगरपालिकाले जनाएको छ।

    विदुर नगरपालिकाभित्र सञ्चालित होल्डिङ सेन्टरमा अन्य जिल्ला तथा पालिकाका भोटेकोशी बाढीबाट प्रभावित नागरिक रहेकाले तिनीहरूको व्यवस्थापनका लागि सम्बन्धित जिल्ला तथा पालिकालाई आग्रह गरिएको पनि निर्णयमा उल्लेख छ।

    यो निर्णय नगरपालिकाका अधिकृत छैटौं रणबहादुर थापा मगरको हस्ताक्षरमा सार्वजनिक गरिएको हो।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार