Sep 16 2026 | २०८३, भदौ ३१ गते

युवा सहभागिता र इन्टरनेट गभर्नेन्स क्षमता विकासमा केन्द्रित 'एपिगा नेपाल २०२६' सम्पन्न

युवा सहभागिता र इन्टरनेट गभर्नेन्स क्षमता विकासमा केन्द्रित 'एपिगा नेपाल २०२६' सम्पन्न

'एपिगा नेपाल २०२६' सम्पन्न

बुधबार, भदौ २४ २०८३
बुधबार, भदौ २४ २०८३
  • युवा सहभागिता र इन्टरनेट गभर्नेन्स क्षमता विकासमा केन्द्रित 'एपिगा नेपाल २०२६' सम्पन्न

    काठमाडौं — एसिया प्यासिफिक इन्टरनेट गभर्नेन्स एकेडेमी (एपिगा) नेपाल २०२६ सफलतापूर्वक सम्पन्न भएको छ। सेप्टेम्बर ५ र ६ मा काठमाडौंमा आयोजना गरिएको दुईदिने यस क्षमता विकास कार्यक्रममा युवा सहभागीहरूलाई इन्टरनेट गभर्नेन्स, डिजिटल नीति, बहु-सरोकारवाला मोडल तथा क्षेत्रीय र विश्वव्यापी इन्टरनेट नीति निर्माण प्रक्रियाबारे ज्ञान, सीप र व्यावहारिक अनुभव प्रदान गरिएको थियो। इन्टरनेट कर्पोरेसन फर असाइन्ड नेम्स एन्ड नम्बर्स (ICANN) सँगको सहकार्यमा आयोजना भएको यो कार्यक्रम नेपालमा आयोजना हुने एपिगाको तेस्रो संस्करण हो।

    कार्यक्रमको उद्घाटन समारोहमा क्यान महासंघका उपाध्यक्ष नबिन जोशीले स्वागत मन्तव्य राख्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा नेपाल दूरसञ्चार प्राधिकरण (NTA) का अध्यक्ष अर्जुन घिमिरेले मुख्य सम्बोधन गर्नुभएको थियो, जसमा उहाँले नेपालको डिजिटल विकास र इन्टरनेट गभर्नेन्समा युवा पुस्ताको भूमिकाको महत्वबारे चर्चा गर्नुभएको थियो।

    APIGA Nepal 2026 _ Participants.jpeg

    एसिया-ओसिनिया कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (ASOCIO) का उपाध्यक्ष नवराज कुँवर, नेपाल इन्टरनेट सेवा प्रदायक संघ (ISPAN) का प्रमुख कार्यकारी अधिकृत सुवास खड्का तथा सनवे कलेज काठमाडौंकी सञ्चालन प्रमुख सिमोली गौतम देसाईले पनि आ-आफ्ना विषयगत मन्तव्य राख्नुभएको थियो।

    उद्घाटनपश्चात् कार्यक्रममा विशेषज्ञ सत्र, पावर टक, नीति छलफल, अन्तरक्रियात्मक कार्यशाला तथा समूहगत गतिविधिहरू सञ्चालन गरिएका थिए। सहभागीहरूले इन्टरनेट गभर्नेन्सको आधारभूत अवधारणा, ICANN को भूमिका र नीतिनिर्माण प्रक्रिया, DNS र इन्टरनेट इकोसिस्टम, तथा क्षेत्रीय र विश्वव्यापी इन्टरनेट गभर्नेन्स प्रक्रियाबारे जानकारी हासिल गरेका थिए।

    APNIC (Asia Pacific Network Information Centre) सम्बन्धी सत्रमार्फत सहभागीहरूलाई APNIC को भूमिका र नीति विकास प्रक्रिया (PDP) बारे पनि जानकारी दिइएको थियो, भने कार्यक्रमको अर्को प्रमुख आकर्षण रहेको Model ICANN Conference मार्फत सहभागीहरूले ICANN को वास्तविक बहु-सरोकारवाला नीति छलफल प्रक्रियालाई व्यावहारिक रूपमा अनुभव गरेका थिए।

    APIGA Nepal 2026_ Workshop Day 2.jpg

    आयोजक क्यान महासंघका अनुसार एपिगा नेपाल २०२६ ले नेपालमा इन्टरनेट गभर्नेन्स युवा समुदायलाई थप सुदृढ गर्ने, युवाहरूलाई राष्ट्रिय, क्षेत्रीय तथा विश्वव्यापी डिजिटल नीति छलफलमा जोड्ने र नेपालको इन्टरनेट गभर्नेन्स इकोसिस्टममा नयाँ पुस्ताको सहभागिता बढाउने उद्देश्यमा महत्वपूर्ण योगदान पुर्‍याएको छ। कार्यक्रम सफल बनाउन सहयोग गर्ने Digital Co-operation Nepal, ICANN, APNIC, Internet Society Foundation लगायतका साझेदार संस्था, वक्ता, प्रशिक्षक, स्वयंसेवक र सहभागीहरूप्रति आयोजकले हार्दिक आभार व्यक्त गरेको छ।

    कार्यक्रमका लागि इन्टरनेट पार्टनर वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड, बैंकिङ पार्टनर ग्लोबल आइएमई बैंक लिमिटेड तथा सहयोगीका रूपमा क्यान महासंघ, एनपीआईएक्स, सनवे कलेज काठमाडौं र जेनेरेसन नेक्स्ट कम्युनिकेसन्स प्रा.लि. रहेका थिए।

    एपिगा नेपालका कार्यक्रम संयोजक उदिप बराल र टिम लिड विवेक सिलवालको नेतृत्वमा सञ्चालन गरिएको यस कार्यक्रममा प्रमोद ढुंगाना, ओम प्रकाश शर्मा, स्वस्ती बास्तोला, मध्यिका अधिकारी, विजय रेग्मी, पूर्णिका खनाल, सिद्धान्त पन्त, एलिना पुन मगर, दिक्ष्या राउत, अनुपम गौतम र नसला जोशी आयोजक टोलीमा सहभागी थिए। आयोजकले एपिगा नेपाल २०२६ बाट विकसित ज्ञान, सीप, नेटवर्क र अनुभवलाई सहभागीहरूले आगामी दिनमा नेपाल तथा क्षेत्रीय र विश्वव्यापी इन्टरनेट गभर्नेन्स प्रक्रियामा उपयोग गर्ने विश्वास व्यक्त गरेको छ।

    APIGA Nepal.jpeg

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार