तीन राजमार्ग बन्द, एउटा मात्र लाइफलाइन खुला
तीन राजमार्ग बन्द, एउटा मात्र लाइफलाइन खुला
एउटा मात्र लाइफलाइन खुला
काठमाडौं – अविरल वर्षाका कारण काठमाडौं आउजाउ गर्ने मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। काठमाडौंसँग जोड्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्तिलोकपथ तीनवटै पहिरोका कारण बन्द छन्।
यी राजमार्गहरूमा ठाउँठाउँमा पहिरो खसेका कारण बिहानैदेखि सवारीसाधनहरू गुड्न सकेका छैनन्। काठमाडौंको लाइफलाइन मानिने त्रिभुवन राजपथ (हेटौंडा–नौबिसे–काठमाडौं) भने अत्यावश्यक सामग्री ल्याउनका लागि मकवानपुरतिरबाट मात्र एकतर्फी रूपमा सञ्चालनमा छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका अनुसार त्रिभुवन राजपथ हाल एकतर्फी सञ्चालनमा रहेकाले खाद्यान्न, इन्धन तथा अन्य आवश्यक सामग्री बोकेका सवारीसाधनलाई प्राथमिकता दिइँदै छ। तीनवटै मुख्य मार्ग एकैसाथ अवरुद्ध हुँदा राजधानीको आपूर्ति शृंखलामा गम्भीर असर पर्ने चिन्ता बढेको छ।
यसअघि भदौ १० र १४ गते त्रिशूली नदीमा आएको भीषण बाढीले पृथ्वी राजमार्गको कृष्णभीर खण्डको सडक नै बगाएपछि लामो समयसम्म यातायात ठप्प भएको थियो। हालै मात्र कृष्णभीर खण्डमा वैकल्पिक ट्र्याक निर्माण गरी यातायात सुचारु गरिएको भए पनि, अहिलेको लगातार वर्षाले पुनः यस क्षेत्रलाई जोखिमपूर्ण बनाएको छ।
बंगालको खाडीको न्यून चापीय प्रणालीका कारण असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको चेतावनी दिइएकै बेला यो अवरोध आइपुगेको हो। सम्बन्धित निकायहरूले मौसम सामान्य नभएसम्म तथा प्राविधिक मर्मत नभएसम्म राजमार्गहरू पूर्ण रूपमा खुल्न नसक्ने जनाएका छन्।
