जेनजी सहिदको सम्झनामा सातदोबाटोमा स्मृति पार्क निर्माण, भोलि उद्घाटन
जेनजी सहिदको सम्झनामा सातदोबाटोमा स्मृति पार्क निर्माण, भोलि उद्घाटन
भोलि उद्घाटन
४५ सहिदको सालिक, दुई रोपनी जग्गामा बनेको स्मृति पार्क । पार्कको मुख्य संरचनामा नेपालको झण्डालाई केन्द्रमा राखिएको छ । जुनसुकै दिशाबाट प्रवेश गरे पनि लेभेन्डरको सुगन्ध अनुभव गर्न सकिने गरी व्यवस्थापन गरिएको छ ।
काठमाडौँ । जेनजी आन्दोलनको एक वर्ष पुगेको छ । जेनजी आन्दोलनका सहिदहरूको सम्झनामा ललितपुरको सातदोबाटोस्थित पौडी पोखरी परिसरमा 'जेनजी स्मृति पार्क' निर्माण गरिएको छ । बुधबार यस पार्कको औपचारिक उद्घाटन कार्यक्रम हुनेछ ।
जेनजी पार्कमा गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त ४५ जनाको सालिक निर्माण गरिएको छ । पौडी पोखरी परिसरको दुई रोपनी जग्गामा निर्माण गरिएको यो पार्कलाई सहिदहरूको स्मृति, राष्ट्रियता र सामूहिक स्मरणसँग जोड्ने गरी डिजाइन गरिएको छ ।
पार्कका आर्किटेक्ट करुण रिजालका अनुसार पार्क 'मिनिमल' शैलीमा डिजाइन गरिएको छ । पार्कको क्षेत्रफल सीमित भए पनि सहिदहरूको धेरै सालिक राख्नुपर्ने भएकाले सबै संरचनालाई अर्थपूर्ण ढंगले समेट्ने प्रयास गरिएको उनले बताए । "सहिदहरूको फोकस नेपालको झण्डामा पर्ने गरी डिजाइन गरेका छौँ," रिजालले भने । पार्कको मुख्य संरचनामा नेपालको झण्डालाई केन्द्रमा राखिएको छ, जसले सहिदहरूको स्मृतिलाई राष्ट्रिय भावनासँग अभिन्न रूपमा जोड्ने अवधारणा प्रस्तुत गर्दछ ।
पार्कमा सानो भेला तथा कार्यक्रम गर्न सकिने खुला स्थान समेत राखिएको छ, जुन आगन्तुकहरूले एकै ठाउँमा बसेर कार्यक्रम गर्न सकून् भन्ने उद्देश्यले निर्माण गरिएको हो । डिजाइनमा संरचनाका साथै फूल-बगैँचालाई पनि विशेष महत्त्व दिइएको छ । पार्कमा लेभेन्डर रोपिएको छ र जुनसुकै दिशाबाट प्रवेश गरे पनि लेभेन्डरको सुगन्ध अनुभव गर्न सकिने गरी यसको व्यवस्थापन गरिएको छ । पार्कको भित्री भाग बगैँचामा फूल फुलेको जस्तो देखिने ढाँचामा डिजाइन गरिएको छ, जसले यसलाई स्मारकस्थलका साथै शान्त र प्राकृतिक वातावरण भएको सार्वजनिक स्थानका रूपमा पनि विकास गर्ने अवधारणा झल्काउँछ ।
गत फागुनमा जेनजी सहिद स्मारक पार्क निर्माण सुरु भएको थियो । तत्कालीन युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बसेको राष्ट्रिय खेलकुद परिषद्को १२४औँ बोर्ड बैठकले पार्क निर्माणका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेपछि निर्माण कार्य अघि बढाइएको थियो । मौलिक शैलीमा निर्माण गरिएको यस स्मारक पार्कले जेनजी आन्दोलनका सहिदहरूको योगदानलाई दीर्घकालसम्म स्मरणीय बनाइराख्ने विश्वास गरिएको छ ।