विनियोजन विधेयक जनप्रतिबद्धताको इमानदार कार्यान्वयन हो : अर्थमन्त्री वाग्ले
विनियोजन विधेयक जनप्रतिबद्धताको इमानदार कार्यान्वयन हो : अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले ल्याएको विनियोजन विधेयकलाई निर्वाचनका बेला जनतासँग गरिएका प्रतिबद्धताको इमानदार कार्यान्वयन प्रयासको रूपमा स्वीकार गरिदिन सांसदहरूलाई आग्रह गरेका छन्।
मंगलबार प्रतिनिधि सभा बैठकमा विधेयकको सिद्धान्त र प्राथमिकतामाथि सांसदहरूले उठाएका प्रश्न तथा जिज्ञासाको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले यो विधेयक केवल सरकारको एकपक्षीय दृष्टिकोण नभई संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका घोषणापत्रका सकारात्मक पक्षहरूलाई समेत समेटेको स्पष्ट पारे।
बजेटको सैद्धान्तिक आधार र संवेदनशीलताबारे संसद्मा प्रस्ट पार्दै अर्थमन्त्री वाग्लेले भने, 'यो विधेयकले संविधानको निर्देशक सिद्धान्त, आवधिक योजना, दिगो विकासका लक्ष्य, विभिन्न दलका घोषणापत्र तथा नेपाली जनताका साझा आकाङ्क्षालाई समेट्ने प्रयास गरेको छ। जनतासँग गरिएका प्रतिबद्धतालाई कार्यान्वयनमा रूपान्तरण गर्ने इमानदार प्रयत्नका रूपमा यसलाई ग्रहण गरिदिन म यस सम्मानित सदन समक्ष आग्रह गर्दछु।'
अर्थमन्त्री वाग्लेले दलीय एजेन्डा र राजनीतिक खिचातानीमा मात्र अल्झिनुभन्दा देशलाई आर्थिक समृद्धितर्फ अघि बढाउन रचनात्मक छलफल आवश्यक रहेको औँल्याए। उनले संघीय संसद्का सम्पूर्ण सदस्यहरूलाई व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठेर राष्ट्र निर्माणको बृहत्तर बहसमा केन्द्रित हुँदै आगामी बजेटलाई अझ व्यावहारिक र प्रभावकारी बनाउन सहयोग गर्न आह्वान गरे।
