Sep 16 2026 | २०८३, भदौ ३१ गते

"एक पटकको नेपाली, सधैंको नेपाली": लगानी बढाउन नयाँ सम्झौता

"एक पटकको नेपाली, सधैंको नेपाली": लगानी बढाउन नयाँ सम्झौता

लगानी बढाउन नयाँ सम्झौता

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ८ २०८३
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ ८ २०८३
  • "एक पटकको नेपाली, सधैंको नेपाली": लगानी बढाउन नयाँ सम्झौता

    काठमाडौं — गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल चेम्बर अफ कमर्स (एनसीसी) बीच नेपालमा लगानी प्रवर्द्धन, व्यापार तथा व्यवसाय विस्तार र आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। एनआरएनएका तर्फबाट अध्यक्ष डा. हेमराज शर्मा र नेपाल चेम्बरका तर्फबाट अध्यक्ष कमलेश अग्रवालले भदौ ७ गते समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

    समझदारीअनुसार नेपालमा विदेशी प्रत्यक्ष लगानी (एफडीआई) भित्र्याउन सहजीकरण गर्ने, व्यापार, उद्योग तथा उद्यमशीलताको विकासमा सहकार्य गर्ने तथा स्वदेशी र गैरआवासीय नेपाली व्यवसायीबीच सहकार्य र सञ्जाल विस्तार गर्ने लक्ष्य राखिएको छ। साथै ज्ञान हस्तान्तरण, नवप्रवर्तन तथा प्रविधि आदानप्रदानलाई प्रोत्साहन गर्ने र निजी क्षेत्रमैत्री नीति निर्माणका लागि संयुक्त रूपमा पैरवी गर्ने विषय पनि समझदारीमा समेटिएको छ। दुवै संस्थाले संयुक्त रूपमा लगानी सम्मेलन, रोड-शो, व्यापारिक शिखर सम्मेलन तथा व्यवसायिक कार्यक्रम आयोजना गरी विदेशी तथा गैरआवासीय नेपाली लगानीकर्ता र स्थानीय व्यवसायीबीच प्रत्यक्ष सम्पर्कको अवसर सिर्जना गर्नेछन्।

    यो एमओयू हस्ताक्षर मितिदेखि पाँच वर्षसम्म कायम रहनेछ र आपसी सहमतिमा नवीकरण गर्न सकिनेछ। कुनै पनि पक्षले ३० दिनको लिखित सूचना दिई समझदारी अन्त्य गर्न सक्नेछ।

    कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनए अध्यक्ष डा. हेमराज शर्माले विश्वभर छरिएर रहेका नेपालीको सीप, ज्ञान, अनुभव र पूँजीलाई नेपालको विकाससँग जोड्ने अभियानलाई प्राथमिकता दिइने बताए। "विदेशमा बसेका नेपालीसँग केवल पैसा मात्र छैन, उनीहरूसँग सीप, प्रविधि, व्यवस्थापन क्षमता, अन्तर्राष्ट्रिय अनुभव र व्यापक सम्पर्क पनि छ," उनले भने, "अब यी सबै क्षमतालाई नेपालमा कसरी उपयोग गर्ने भन्ने विषयमा व्यावहारिक ढंगले काम गर्नुपर्छ।" विश्वका करिब ११० देशमा गैरआवासीय नेपालीको सञ्जाल विस्तार भइसकेको उल्लेख गर्दै उनले कृषि, पर्यटन, सूचना प्रविधि, ऊर्जा, पूर्वाधार र उत्पादनमूलक उद्योगमा गैरआवासीय नेपालीको लगानी आकर्षित गर्न सकिने बताए।

    1000060917.jpg

    1000060923.jpg

    नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले भने आर्थिक विकासका लागि राम्रो नीति मात्र पर्याप्त नहुने भन्दै त्यसको प्रभावकारी कार्यान्वयन, कानुनी स्पष्टता र लगानीमैत्री वातावरण आवश्यक रहेको बताए। "नीति राम्रो हुनु मात्र पर्याप्त हुँदैन, सरकारको नियत र कार्यान्वयन पक्ष पनि उत्तिकै प्रभावकारी हुनुपर्छ," उनले भने, "कानुन एउटा दिशामा र नियमावली अर्को दिशामा जाने अवस्था अन्त्य हुनुपर्छ। लगानीको वातावरणमा सुधार नआए स्वदेशी पुँजीसमेत पलायन हुन सक्छ।" उनले "एक पटकको नेपाली, सधैंको नेपाली" भन्ने भावनाका साथ समृद्ध नेपालको यात्रामा सबै सँगै अघि बढ्नुपर्ने आह्वान गरे।

    नेपाल चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न सहज वातावरण निर्माण गर्न सरकारले कानुनी तथा प्रक्रियागत जटिलता हटाउनुपर्ने बताए। गैरआवासीय नेपालीले मातृभूमिमा लगानी गर्ने चाहना राखे पनि कानुनी प्रावधान, कागजी प्रक्रिया र प्रशासनिक झन्झटका कारण लगानीको वातावरण अपेक्षाअनुसार सहज बन्न नसकेको उनले औंल्याए।

    1000060929.jpg

    1000060933.jpg

    कार्यक्रममा एनआरएनएका उपाध्यक्षहरू लोकप्रसाद दाहाल, रोजिना प्रधान राई, दिनेश पोखरेल र रबिन बज्राचार्य, महासचिव डा. चिरञ्जीवी खड्का, सचिव दिपेश खत्री, महिला संयोजक रश्मी थापा, दोस्रो पुस्ता संयोजक (मिस नेपाल २०२६) दीपमाला ढकाललगायतको सहभागिता रहेको थियो। उपाध्यक्ष रोजिना प्रधान राईले एनआरएनए डेभलपमेन्ट फन्डले गैरआवासीय नेपालीको पूँजीलाई नेपालको विकाससँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने बताइन्।

    यो समझदारीले निजी क्षेत्र, गैरआवासीय नेपाली समुदाय तथा लगानीकर्ताबीच सहकार्य विस्तार गर्दै नेपालमा पूँजी, प्रविधि, ज्ञान र व्यावसायिक सञ्जाल भित्र्याउन महत्वपूर्ण आधार बन्ने अपेक्षा गरिएको छ।

    1000060921.jpg

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार