त्रिविमा नयाँ नेतृत्व : रेक्टरमा अन्जना सिंह, रजिस्ट्रारमा रवीन्द्र सिवाकोटी
त्रिविमा नयाँ नेतृत्व : रेक्टरमा अन्जना सिंह, रजिस्ट्रारमा रवीन्द्र सिवाकोटी
रेक्टरमा अन्जना सिंह, रजिस्ट्रारमा रवीन्द्र सिवाकोटी
काठमाडौं, भदौ १६ — त्रिभुवन विश्वविद्यालयको रेक्टर पदमा प्रा.डा. अन्जना सिंह नियुक्त भएकी छिन्। त्रिवि उपकुलपति प्रा.डा. भोला थापाको सिफारिसमा विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री बालेन शाहले मंगलबार सिंहलाई रेक्टरमा नियुक्त गरेका हुन्।
यसैगरी रजिस्ट्रार पदमा सहप्राध्यापक रवीन्द्र सिवाकोटी नियुक्त भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ। नवनियुक्त दुवै पदाधिकारीलाई नियुक्तिपत्र प्रदान गर्न मंगलबार दिउँसो ३ बजे शिक्षा मन्त्रालयमा बोलाइएको छ।
यसअघि त्रिविमा निमित्त रजिस्ट्रारको जिम्मेवारीमा प्रा.डा. महानन्द चालिसे र निमित्त रेक्टरको जिम्मेवारीमा प्रा.डा. शंकर खनाल कार्यरत थिए। उल्लेखनीय छ, यसअघि राष्ट्रपतिबाट जारी अध्यादेशपछि विश्वविद्यालयका तत्कालीन उपकुलपति, रेक्टर र रजिस्ट्रारले राजीनामा दिएका थिए, जसपछि रिक्त पदमा नयाँ नियुक्तिको प्रक्रिया अघि बढाइएको थियो।
यी दुई नियुक्तिको सिफारिसकर्ता उपकुलपति भोला थापा स्वयं गत असार १९ गते त्रिविको उपकुलपतिमा नियुक्त भएका थिए। काठमाडौं विश्वविद्यालय (केयू)का पूर्वउपकुलपति समेत रहेका थापा इन्जिनियरिङ शिक्षा, जलविद्युत् प्रविधि र ऊर्जा अनुसन्धानको क्षेत्रमा लामो अनुभव भएका शिक्षाविद् मानिन्छन्। मेकानिकल इन्जिनियरिङमा स्नातक गरेका उनले टर्बाइन रनरसम्बन्धी विषयमा स्नातकोत्तर र हाइड्रोलिक मेसिनहरूमा बालुवाका कणले हुने घिसावटसम्बन्धी विषयमा विद्यावारिधि गरेका छन्।
केयूमा प्राध्यापक, सहायक डिन, कार्यकारी डिन र रजिस्ट्रार जस्ता विभिन्न जिम्मेवारी सम्हालिसकेका थापा २०७७ सालको माघमा सोही विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएका थिए। त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १८ बमोजिम गठित सिफारिस समितिको सुझावमा उनी त्रिविको नेतृत्वमा आइपुगेका हुन्।
थापाको नियुक्तिसँगै सोही मन्त्रिपरिषद् बैठकबाट काठमाडौं विश्वविद्यालय बाहेक सुदूरपश्चिम, मध्यपश्चिम, कृषि तथा वन विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय, पोखरा विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालय गरी जम्मा सातवटा विश्वविद्यालयका उपकुलपतिहरू एकैसाथ नियुक्त गरिएका थिए, जसले सरकारले उच्च शिक्षा क्षेत्रको नेतृत्व पुनर्गठनलाई प्राथमिकतामा राखेको संकेत गर्छ।
यसै शृंखलाको निरन्तरताका रूपमा अब त्रिविको रेक्टर र रजिस्ट्रार पदमा समेत स्थायी नेतृत्व तोकिनुले विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक संरचना क्रमशः पूर्णता पाउँदै गएको देखिन्छ।