Sep 16 2026 | २०८३, भदौ ३१ गते

मधेशमा अब आफ्नै इन्जिनियरिङ क्याम्पस, ३ वर्षभित्र पढाइ सुरु

मधेशमा अब आफ्नै इन्जिनियरिङ क्याम्पस, ३ वर्षभित्र पढाइ सुरु

३ वर्षभित्र पढाइ सुरु

आइतबार, भदौ २८ २०८३
आइतबार, भदौ २८ २०८३
  • मधेशमा अब आफ्नै इन्जिनियरिङ क्याम्पस, ३ वर्षभित्र पढाइ सुरु

    काठमाडौं — सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)को नयाँ क्याम्पस स्थापना गर्ने तयारी अघि बढाएको छ।

    शिक्षा तथा खेलकुदमन्त्री सस्मिता पोखरेलले मधेश प्रदेशमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न र इन्जिनियरिङ अध्ययनका लागि विद्यार्थीले अन्य प्रदेशमा जानुपर्ने बाध्यता अन्त्य गर्न क्याम्पस स्थापना गर्न लागिएको बताएकी छन्। मधेश प्रदेशबाट प्रत्येक वर्ष ठूलो संख्यामा विद्यार्थी इन्जिनियरिङ अध्ययनका लागि काठमाडौंलगायत अन्य प्रदेशमा जाने गरेका छन्, जसले विद्यार्थी तथा अभिभावकमाथि अतिरिक्त आर्थिक भार पार्नुका साथै बसाइँ तथा अन्य व्यावहारिक समस्या सिर्जना गर्दै आएको छ।

    मन्त्री पोखरेलका अनुसार नयाँ क्याम्पस स्थापनाका लागि उपयुक्त स्थान छनोट गर्ने प्रक्रिया अघि बढाइएको छ। यसका लागि विशेष अध्ययन समिति गठन गरिनेछ र समितिको प्रतिवेदनका आधारमा क्याम्पस स्थापनाको स्थान तय गरिनेछ। क्याम्पस निर्माण तथा सञ्चालनको निश्चित समयसीमा तय भइनसकेको भए पनि आगामी तीन वर्षभित्र पठनपाठन सुरु गर्ने गरी आन्तरिक तयारी भइरहेको मन्त्री पोखरेलले जानकारी दिइन्।

    नयाँ क्याम्पसलाई परम्परागत शिक्षामा मात्र सीमित नराखी अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित गर्ने सरकारको योजना छ। आधुनिक प्रविधि, वैज्ञानिक अनुसन्धान, आविष्कार तथा व्यावहारिक प्रयोगलाई प्राथमिकता दिँदै क्याम्पसलाई अनुसन्धानको केन्द्रका रूपमा विकास गर्ने तयारी गरिएको छ।

    सरकारले मधेशमा इन्जिनियरिङ अध्ययन संस्थानको क्याम्पस स्थापना भएपछि यस क्षेत्रका विद्यार्थीलाई आफ्नै प्रदेशमा गुणस्तरीय प्राविधिक शिक्षा हासिल गर्ने अवसर बढ्ने अपेक्षा गरेको छ। साथै, स्थानीय स्तरमै अनुसन्धान तथा प्राविधिक नवप्रवर्तनको वातावरण निर्माण हुने विश्वास गरिएको छ।

    हाल त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानका आंगिक क्याम्पसहरू पुल्चोक, थापाथली, धरान, चितवन र पोखरामा सञ्चालनमा छन्। मधेश प्रदेशमा नयाँ क्याम्पस स्थापना भएमा इन्जिनियरिङ शिक्षाको भौगोलिक पहुँच थप विस्तार हुने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार