Sep 16 2026 | २०८३, भदौ ३१ गते

विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ" : राष्ट्रपति पौडेल

विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ" : राष्ट्रपति पौडेल

राष्ट्रपति पौडेल

सोमबार, भदौ २२ २०८३
सोमबार, भदौ २२ २०८३
  • विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ" : राष्ट्रपति पौडेल

    काठमाडौं — रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीबाट प्रभावित तथा विपद्पीडित नागरिकहरूलाई हाल राज्यको साथ र भरोसा आवश्यक रहेको राष्ट्रपति रामचन्द्र पौडेलले बताउनुभएको छ। घरबारविहीन भएका, आफन्त गुमाएका, विस्थापित भएका र जीविकोपार्जनको आधार गुमाएका नागरिकहरूको पीडा अत्यन्त गहिरो रहेको उल्लेख गर्दै उहाँले पीडितहरूका गुनासा र मागलाई आलोचनाका रूपमा नभई समस्या समाधानको संकेतका रूपमा बुझ्न सरकार लगायत सम्बन्धित सबै निकायलाई आग्रह गर्नुभयो।

    रसुवा र नुवाकोटका बाढीप्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी काठमाडौं फर्केपछि राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपतिले यस्तो बताउनुभएको हो। उद्धार, खोज, राहत, पुनर्निर्माण र पुनःस्थापनाका सबै काम थप प्रभावकारी बनाउन सरकारले स्थानीय तहलगायत सबै निकायसँग समन्वय गरिरहेको विश्वास व्यक्त गर्दै उहाँले "यो दुःखको घडीमा आफू पनि सबैको साथमा रहेको" बताउनुभयो।

    राष्ट्रपतिले उद्धार गरिएका प्रत्येक व्यक्तिका लागि खाद्यान्न, स्वच्छ खानेपानी, सुरक्षित आश्रय, औषधोपचार र मनोसामाजिक सेवाको पहुँच सुनिश्चित हुनुपर्नेमा जोड दिनुभयो। बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, गर्भवती महिला लगायत जोखिममा रहेका समूहप्रति विशेष ध्यान पुर्‍याउनुपर्ने र अस्थायी आश्रयस्थल सुरक्षित तथा मर्यादित हुनुपर्ने उहाँको भनाइ थियो। साथै नेपाली र विदेशी नागरिक दुवैका परिवारजनलाई यथार्थ र विश्वसनीय सूचना उपलब्ध गराउन आवश्यक रहेको उहाँले औंल्याउनुभयो।

    मृतकहरूको पहिचान प्रक्रिया सावधानी र संवेदनशीलताका साथ अगाडि बढाउनुपर्नेमा जोड दिँदै राष्ट्रपतिले आवश्यकतानुसार डीएनए नमुना सुरक्षित संकलन गरी विश्वसनीय पहिचान प्रक्रिया अघि बढाउने विश्वास व्यक्त गर्नुभयो। भदौ १० गते हिमनदीको बरफ र चट्टानसहित आएको हिमपहिरोका कारण उत्पन्न विनाशकारी बाढीले धेरै मानव जीवन र घरपरिवार बगाउनुका साथै सडक, पुल र जलविद्युत् आयोजनालगायत महत्त्वपूर्ण पूर्वाधारमा समेत गम्भीर क्षति पुर्‍याएको उहाँले उल्लेख गर्नुभयो।

    विपत्तिमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै राष्ट्रपतिले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र बेपत्ता नागरिकहरूको खोज तथा उद्धार कार्य सफल होस् भन्ने कामना गर्नुभयो। उद्धार कार्यमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि, कर्मचारी र स्वयंसेवकहरूप्रति उच्च सम्मान व्यक्त गर्दै उहाँले जोखिमपूर्ण अवस्थाका बाबजुद खोज तथा उद्धार कार्य नरोकिनुपर्ने र नत्याग्नुपर्ने चेतावनी पनि दिनुभयो।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार