Sep 16 2026 | २०८३, भदौ ३१ गते

६० मा अलआउट ओमान: नेपालको शानदार जित, फाइनल पक्का

६० मा अलआउट ओमान: नेपालको शानदार जित, फाइनल पक्का

नेपालको शानदार जित, फाइनल पक्का

बिहीबार , भदौ २५ २०८३
बिहीबार , भदौ २५ २०८३
  • ६० मा अलआउट ओमान: नेपालको शानदार जित, फाइनल पक्का

    काठमाडौं — नेपाली क्रिकेट टोलीले मलेसियाको क्वालालम्पुरमा आयोजित एसीसी पुरुष प्रिमियर कपको सेमिफाइनलमा ओमानलाई ८७ रनले पराजित गर्दै तेस्रो संस्करणको फाइनलमा प्रवेश गरेको छ।

    बायुमास ओभलमा खेलिएको खेलमा टस हारेर पहिले ब्याटिङ गर्न बाध्य भएको नेपाली टोली ४५.४ ओभरमा जम्मा १४७ रनमा अलआउट भएको थियो। दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ५१ रन बनाए भने बसिर अहमदले ४७ रनको योगदान दिए। नेपालले ३६ रनमै ४ विकेट गुमाएर संकटमा परेको बेला दिपेन्द्र र बसिरले पाँचौं विकेटका लागि ९३ रनको साझेदारी गरी टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्‍याएका थिए। ओमानका जे ओडेद्रा र हसनेन शाहले ३/३ वटा विकेट लिए।

    १४८ रनको लक्ष्य पछ्याउन उत्रिएको ओमान भने नेपाली स्पिन आक्रमणसामु टिक्न सकेन र २८.१ ओभरमै जम्मा ६० रनमा अलआउट भयो। ओमानका जितेन्द्र सिंहले ४१ बलमा २५ रन बनाए भने जिटेन रामानन्दीले ४२ बलमा १३ रन बनाए। ओमानका अन्य कुनै पनि खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।

    नेपालका कप्तान सन्दीप लामिछाने र दिपेन्द्रसिंह ऐरीले ३-३ वटा विकेट लिए भने ललित राजबंशी र रोहितकुमार पौडेलले २-२ वटा विकेट लिए। खेलको उत्कृष्ट खेलाडी दिपेन्द्रसिंह ऐरी छानिए, जसले ब्याटिङमा ५१ रन, बलिङमा ३ विकेट र दुईवटा क्याच लिएका थिए।

    यही दिन खेलिएको अर्को सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (युएई) ले हङकङलाई ७ विकेटले पराजित गर्दै फाइनलमा नेपालसँगको भिडन्त पक्का गरेको छ। फाइनल खेल शनिबार हुनेछ। दुई समूहमा विभाजित गरी १० टोलीबीच आयोजित यस प्रतियोगिताको विजेता टोलीले सन् २०२७ को एसिया कपमा खेल्ने अवसर पाउनेछ।

    नेपाली टोली समूह चरणमा शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको थियो, यद्यपि समूह चरणमै हङकङसँग १५ रनले पराजित भएको थियो। फाइनलमा युएईविरुद्ध विजयी भएमा नेपालले लगातार दोस्रोपटक एसीसी प्रिमियर कप जित्ने र सिधै एसिया कपमा स्थान सुनिश्चित गर्ने अवसर पाउनेछ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार