Sep 16 2026 | २०८३, भदौ ३१ गते

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा शुभकामना

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा शुभकामना

मन्त्री पोखरेलद्वारा शुभकामना

शुक्रबार, भदौ २६ २०८३
शुक्रबार, भदौ २६ २०८३
  • एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा शुभकामना

    काठमाडौं, २५ भदौ — जापानमा हुन लागेको २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक र व्यवस्थापन टोलीलाई शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बिदाइ गर्नुभएको छ। बिहीबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री पोखरेलले टोलीलाई शुभकामना दिनुभयो।

    कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्नु गौरवको विषय भएको बताउनुभयो र खेलाडीहरूलाई उच्च मनोबलका साथ प्रतिस्पर्धामा उत्रन आग्रह गर्नुभयो। व्यक्तिगत प्रदर्शनका साथसाथै राष्ट्रको प्रतिष्ठालाई पनि ध्यानमा राख्न उहाँले सुझाव दिनुभयो। सीमित स्रोत साधनका बाबजुद खेलाडीहरूले गरेको मेहनतप्रति उहाँले आभार व्यक्त गर्दै, नतिजा जेसुकै भए पनि राज्यबाट खेलाडीको सम्मानमा कमी नआउने र जित्दा वा हार्दा दुवै अवस्थामा उत्तिकै सम्मानका साथ स्वागत गरिने प्रतिबद्धता जनाउनुभयो।

    नेपाली खेलाडीहरूमा पर्याप्त प्रतिभा र क्षमता रहेको उल्लेख गर्दै, अन्तर्राष्ट्रिय स्तरमा राम्रो नतिजा हासिल गर्न सरकारले आवश्यक सहयोग गर्ने मन्त्री पोखरेलले बताउनुभयो। खेलाडीको क्षमता विकास, प्रशिक्षण र खेल पूर्वाधारलगायत खेल क्षेत्रको समग्र विकासलाई प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ थियो।

    आगामी असोज ३ देखि १८ गतेसम्म जापानमा हुने यस खेलकुदमा नेपालबाट २११ सदस्यीय टोली सहभागी हुँदैछ, जसमा २१ खेलका १३५ खेलाडी (५७ महिला, ७८ पुरुष) रहेका छन्। टोलीमा २९ प्रशिक्षक, १७ व्यवस्थापक तथा खेल प्राविधिक, मेडिकल टिमका ६ सदस्य र चारजना पत्रकार तथा विशिष्ट अतिथिसमेत सामेल छन्।

    नेपालले सन् १९५१ मा भारतमा भएको पहिलो एसियाली खेलकुददेखि नै सहभागिता जनाउँदै आएको छ; त्यसबेला एथलेटिक्समा मात्र नौ सदस्यीय टोली गएको थियो, जबकि यसपटक नेपालले २१ खेलमा प्रतिस्पर्धा गर्दैछ। सन् १९८६ मा दक्षिण कोरियाको सोलमा भएको १०औँ संस्करणमा पहिलो पदक जितेयता नेपाल कहिल्यै पदकविहीन फर्किएको छैन।

    खेलाडीको क्षमता विकासका लागि सरकारले वैदेशिक प्रशिक्षण र अन्तर्राष्ट्रिय एक्सपोजरको व्यवस्था मिलाएको छ, जसअन्तर्गत विदेशमा प्रशिक्षणरत केही खेलाडी सोहीँबाट जापान पुग्नेछन्। नेपालमा रहेका खेलाडीलाई विदेशी प्रशिक्षकबाट तालिम दिइएको छ र तीन वर्षदेखि विशेष प्रशिक्षणमा रहेका खेलाडीलाई पछिल्लो दुई महिनादेखि बन्द प्रशिक्षणमार्फत उच्चस्तरीय तयारी गराइएको छ।

    खेलगत सहभागितामा हेर्ने हो भने कबड्डीमा सबैभन्दा बढी २४ खेलाडी, क्रिकेटमा १५, भलिबलमा १२, उसुमा १०, करातेमा आठ, बक्सिङमा सात, तथा जुडो, एथलेटिक्स, टेबल टेनिस र कुस्तीमा छ–छजना खेलाडी सहभागी हुनेछन्। प्रतियोगिताको तालिकाअनुसार नेपाली खेलाडी फरक–फरक मितिमा जापान प्रस्थान गर्न थालिसकेका छन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार