विद्युत् महँगो नबनाउ, भ्याट फिर्ता लेऊ : मल्लको सरकारलाई चेतावनीपूर्ण आग्रह
विद्युत् महँगो नबनाउ, भ्याट फिर्ता लेऊ : मल्लको सरकारलाई चेतावनीपूर्ण आग्रह
मल्लको सरकारलाई चेतावनीपूर्ण आग्रह
काठमाडौं — नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले विद्युतमाथि लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) नीति फेरि हेर्न सरकारसँग आग्रह गरेका छन्। वर्षायाममा प्रशस्त विद्युत् उत्पादन हुँदाहुँदै पनि उपभोक्तालाई थप महँगी बेहोर्नुपर्ने गरी भ्याट लगाउने निर्णय जनहितमा नरहेको उनको भनाइ छ।
सरकारले घरेलु उपभोक्ताका लागि ५ प्रतिशत र व्यावसायिक तथा औद्योगिक उपभोक्ताका लागि १३ प्रतिशत भ्याट लगाउने निर्णय गरेको छ। मल्लका अनुसार यसले उद्योग, व्यवसाय र सेवा क्षेत्रको उत्पादन लागत बढाउनेछ, जसको प्रत्यक्ष असर बजारमा बिक्री हुने वस्तु तथा सेवाको मूल्यमा पर्नेछ।
मल्ल भन्छन्, नेपालको अर्थतन्त्र अहिले उत्पादन विस्तार, औद्योगिक पुनरुत्थान र रोजगारी सिर्जनामा ध्यान दिनुपर्ने अवस्थामा छ। यस्तो बेला ऊर्जा जस्तो आधारभूत क्षेत्रमा थप कर लगाउँदा उद्योगी-व्यवसायीदेखि आम उपभोक्तासम्म सबै प्रभावित हुने उनको भनाइ छ। उनले सस्तो, सहज र प्रतिस्पर्धी विद्युत् उपलब्ध गराउने नीतिलाई नै अर्थतन्त्र चलायमान बनाउने बाटो भएको बताएका छन्।
विद्युत् उत्पादन बढ्दै गएको सन्दर्भमा उद्योग, कलकारखाना, पर्यटन र कृषिजस्ता उत्पादनशील क्षेत्रमा सस्तो र भरपर्दो विद्युत् उपलब्ध गराउन सके त्यसले उत्पादन वृद्धि, रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारमा टेवा पुर्याउने मल्लको तर्क छ। साथै, औद्योगिक उपभोक्तामाथि थप करको भार पर्दा नेपाली उद्योगको प्रतिस्पर्धात्मक क्षमता नै कमजोर हुन सक्ने चेतावनी उनले दिएका छन्।
मल्लले सरकारलाई राजस्व वृद्धिमा मात्र केन्द्रित नभई उत्पादन र लगानी प्रोत्साहन गर्ने दीर्घकालीन नीति अपनाउन सुझाव दिँदै विद्युतमाथिको भ्याट नीति पुनरावलोकन गरी उद्योग, व्यवसाय र आम उपभोक्तालाई राहत दिन आग्रह गरेका छन्।