Sep 16 2026 | २०८३, भदौ ३१ गते

कृष्णभीर अवरुद्ध: ६ घण्टाको यात्रा अब १३ घण्टा

कृष्णभीर अवरुद्ध: ६ घण्टाको यात्रा अब १३ घण्टा

६ घण्टाको यात्रा अब १३ घण्टा

मंगलबार, भदौ २३ २०८३
मंगलबार, भदौ २३ २०८३
  • कृष्णभीर अवरुद्ध: ६ घण्टाको यात्रा अब १३ घण्टा

    पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौं यात्रा प्रभावित भएको छ। नियमित मार्ग अवरुद्ध हुँदा बेँसीसहरबाट काठमाडौं जाने सवारीसाधन वैकल्पिक बाटोबाट सञ्चालन भइरहेका छन्।

    भदौ १४ गते कृष्णभीरमा सडक भासिएपछि बेँसीसहरबाट काठमाडौं चल्ने माइक्रोबस तथा ठूला बस चितवन, हेटौंडा हुँदै दक्षिणकालीको वैकल्पिक मार्गबाट सञ्चालन भइरहेका छन्। यसअघि करिब पाँच–छ घण्टामा पूरा हुने यात्रा अहिले १२–१३ घण्टासम्म लाग्ने गरेको छ भने यात्रुको खर्चसमेत उल्लेख्य रूपमा बढेको छ। लामो र घुमाउरो बाटोका कारण यात्रुको समय र खर्च बढ्नुका साथै सवारीसाधन तथा यात्रुको संख्या पनि घटेको छ।

    बेँसीसहर–काठमाडौं माइक्रोबसका चालक मुस्कान राईका अनुसार वैकल्पिक मार्गबाट काठमाडौं पुग्न पहिलेभन्दा धेरै समय लाग्ने गरेको छ। यसअघि सवारीसाधनअनुसार रु ९०० देखि रु १,२०० सम्म रहेको भाडा अहिले दुई गुणाभन्दा बढी पुगेको छ।

    सडक अवरोधको असर उपचारका लागि 'रेफर' हुने बिरामीको यात्रामा समेत परेको छ। लमजुङ अस्पतालका सूचना अधिकारी अनिल रेग्मीका अनुसार अस्पतालमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं, चितवन र पोखरा रेफर गर्ने गरिएको छ, जसमा अहिले धेरै समय र खर्च लाग्न थालेको छ।

    कास्की, लमजुङ र तनहुँतर्फबाट काठमाडौं जाने सवारीसाधनले पनि वैकल्पिक मार्ग प्रयोग गर्न सक्ने जनाइएको छ। ती क्षेत्रबाट आउने सवारीसाधनले गोरखा सदरमुकाम–बुँकोट–नाम्जुङ–फुजेल–दर्बुङ–सिउरेनीटार हुँदै बेनिघाट निस्किएर काठमाडौं पुग्न सक्नेछन्। स्थानीय प्रशासनले सडकको अवस्था र मौसमअनुसार यात्रा गर्न तथा स्थानीय सुरक्षा निकायको सूचनालाई ध्यान दिन आग्रह गरेको छ।

    कृष्णभीरमा हाल २७० मिटरको २ लेन डाइभर्सन निर्माणको काम भइरहेको छ, जसलाई एक हप्ताभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। तर माथितिर 'धाँजा' देखिन थालेको समाचार पनि आएको छ, जसले निर्माणकार्यमा थप जोखिम देखाउँछ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार