Sep 16 2026 | २०८३, भदौ ३१ गते

बाढीप्रभावित पुनर्निर्माण र सडक यातायात सञ्चालनमा तीव्रता दिन राष्ट्रपति पौडेलको ध्यानाकर्षण

बाढीप्रभावित पुनर्निर्माण र सडक यातायात सञ्चालनमा तीव्रता दिन राष्ट्रपति पौडेलको ध्यानाकर्षण

राष्ट्रपति पौडेलको ध्यानाकर्षण

बुधबार, भदौ २४ २०८३
बुधबार, भदौ २४ २०८३
  • बाढीप्रभावित पुनर्निर्माण र सडक यातायात सञ्चालनमा तीव्रता दिन राष्ट्रपति पौडेलको ध्यानाकर्षण

    काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक यातायात सञ्चालनसहित पुनर्निर्माण र पुनःस्थापनालगायतका काम तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ।

    उहाँले भौगोलिक विकटतालाई ख्याल गरी सडक यातायात सञ्चालनमा नेपालको आफ्नै क्षमताले नभ्याएमा ठूला बेलिब्रिजसहितका पूर्वाधार निर्माणमा अन्तर्राष्ट्रिय समुदायको सहयोग लिन समेत सुझाव दिनुभएको छ। साथै जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको क्षतिपूर्ति पाउने गरी प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय समुदायसमक्ष आवाज उठाउनुपर्ने सुझाव पनि उहाँले दिनुभएको छ।

    राष्ट्रपति पौडेलले परराष्ट्रमन्त्री शिशिर खनाल र पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँग राष्ट्रपति भवन शीतल निवासमा बुधबार छुट्टाछुट्टै छलफल गरी सडक यातायात सञ्चालन एवं बाढीपीडितको बसोबासका लागि होल्डिङ सेन्टर व्यवस्थापनको काम तीव्र बनाउन आग्रह गर्नुभएको हो।

    बाढीप्रभावित क्षेत्रको स्थलगत अवलोकनका क्रममा पीडितको अवस्था र बाढीबाट पुगेको क्षति आफूले देखेको उल्लेख गर्दै उहाँले बसोबास र क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कार्यलाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सोचका साथ अघि बढाउनुपर्नेमा जोड दिनुभयो, साथै बाढीप्रभावित क्षेत्रको जनजीवन सहज बनाउन तत्कालका काम प्राथमिकतामा राख्न आग्रह गर्नुभयो।

    मन्त्री खनालसँगको भेटमा प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसी र प्रधानसेनापति अशोकराज सिग्देल सहभागी हुनुहुन्थ्यो। सो अवसरमा मन्त्रीद्वयले दसैँअघि नै सडक यातायात पूर्ववत् सञ्चालन गर्ने तथा बाढीप्रभावित नागरिकको बसोबासका लागि अस्थायी टहरा (क्याप्सुल होम) निर्माण सक्ने गरी दिनरात काम भइरहेको जानकारी दिनुभयो।

    यसैगरी वैकल्पिक सडक निर्माण कार्यलाई सरकारले तीव्रता दिएको, लामा बेलिब्रिजका लागि मित्रराष्ट्रहरूसँग आग्रह गरिसकिएको र ती सामग्री आउने क्रममा रहेको तथा अन्य आवश्यक योजना सरकारले अघि बढाएको जानकारी मन्त्रीहरूले राष्ट्रपतिलाई गराउनुभयो।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार