बेलीब्रिज कि ग्याबिन? कोरला नाका जोड्न दुई विकल्प
बेलीब्रिज कि ग्याबिन? कोरला नाका जोड्न दुई विकल्प
कोरला नाका जोड्न दुई विकल्प
काठमाडौं — मुस्ताङस्थित नेपाल–चीन व्यापारिक नाका कोरला जोड्ने सडकहरू खुलाउन विभिन्न स्थानमा युद्धस्तरमा काम भइरहेको सडक विभागले जनाएको छ। लगातारको वर्षा र बाढीपहिरोका कारण अवरुद्ध भएको कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडकलाई खुलाउने काम प्राथमिकतामा राखिएको छ।
सडक विभागका अनुसार घासा–कोरला सडकबाट पहिरो हटाई दुईतर्फी सञ्चालन सुरु भइसकेको छ। मुस्ताङ–बेनीको बीचमा भने विभिन्न स्थानमा सडक बगेको छ। यी स्थानमा भित्तो काट्ने र आवश्यक ठाउँमा पर्खाल लगाएर यातायात सुरु गर्ने काम भइरहेको छ। यो खण्डमा बिहीबार बेलुकासम्म यातायात पुनः सुरु हुने गरी काम भइरहेको विभागले जनाएको छ।
त्यस्तै, राघुगंगा जलविद्युत् आयोजना रहेको स्थानमा भएको सडक कटान पनि ब्याक कटिङ र टेवा पर्खाल लगाई भोलि बेलुकासम्म यातायात सुरु गर्ने तयारी छ। मालढुंगा–बेनी–केराबारीमा समेत भित्तातर्फ ट्र्याक खोल्ने र टेवा पर्खाल लगाई यातायात सुरु गर्ने गरी काम भइरहेको सडक विभागले जनाएको छ। पोखरेबजार पुलका एप्रोचसमेत भोलि बेलुकीसम्म निर्माण सम्पन्न गरी यातायात सञ्चालन गरिने विभागको भनाइ छ।
यसैबीच पोखरादेखि कोरला नाकासम्मको क्षतिग्रस्त सडक खुलाउन सडक विभाग पोखरा र बागलुङ तथा स्थानीय तहको समन्वयमा दुवैतर्फबाट काम थालिएको छ। मालढुंगास्थित कालीगण्डकी पुलका लागि डिभिजनले दुई विकल्प निकालेको छ — तत्कालका लागि ३५ मिटरको बेलीब्रिज बनाएर गाडी सञ्चालन गर्ने वा पुल भत्केको स्थानमा ग्याबिन भरेर पुर्ने। बेलीब्रिजको सामान ल्याउन सहश्रधाराको सडक पनि खुल्नुपर्ने भएकाले सोही सडक खुलेसँगै पुलको काम पनि सँगै अगाडि बढाइने अधिकारीहरूले जनाएका छन्।
कालीगण्डकी करिडोरमा लाटीखोला, फर्से, जुकेखोला, केराबारी, गलेश्वर, रघुगंगा पुल, बैसरी, बेगखोला, महाभीर, नैनीबगर, जलथले, सुकेबगर, दाना र लाटोखोला लगायतका स्थानमा सडक अवरुद्ध भएको भन्सार विभागले जनाएको छ, जसका कारण कोरला नाकाबाट हुने आयात–निर्यात कार्य तत्काल प्रभावित भएको छ। वर्षा कम भई थप व्यवधान नआएमा आगामी ३ देखि ६ दिनभित्र सडक पूर्ण रूपमा सञ्चालनमा आउने आकलन गरिएको छ।
सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार हाल नेपाल–चीनलाई अरनिको राजमार्गले जोडिरहेको छ, र त्यो नाकाबाट व्यापार चालु हुने हो भने नेपालतर्फ सडकमा कुनै अवरोध नरहेको उनले बताएका छन्।
