इनोहभ सर्भिसेसद्वारा याङ्गो राइडरलाई दशैंमा ०% पार्टनर शुल्क
इनोहभ सर्भिसेसद्वारा याङ्गो राइडरलाई दशैंमा ०% पार्टनर शुल्क
पहिलो वार्षिकोत्सवमा बाइक फ्लीट ५०० पुर्याउने तयारी, असोजको अन्तिम साता बाइक एक्सचेन्ज कार्यक्रम हुने
काठमाडौं। इनोहभ सर्भिसेस प्राइभेट लिमिटेडले आफ्नो स्थापनाको पहिलो वार्षिकोत्सव र बडादशैंको अवसरमा सम्पूर्ण 'याङ्गो इनोहभ राइडर' का लागि ०% पार्टनर शुल्कको घोषणा गरेको छ। यो अवधिमा शुल्क नलिइने भएकाले राइडरले कमाइको पूरै रकम राख्न पाउनेछन्।
याङ्गोको स्थानीय फ्लीट पार्टनरका रूपमा काठमाडौं उपत्यकामा करिब एक वर्षदेखि सेवा दिइरहेको कम्पनीसँग हाल २५० भन्दा बढी बाइक र ५०० भन्दा बढी राइडर आबद्ध छन्। बढ्दो मागलाई ध्यानमा राख्दै तिहारपछि बाइक फ्लीट ५०० पुर्याउने तयारी गरिएको छ।
कम्पनीले आफ्नै बाइक किन्न नसक्ने तर राइडिङबाट आम्दानी गर्न चाहनेहरूलाई लक्षित गरेको छ। मोटरसाइकल लाइसेन्स र बाइक चलाउने अनुभव भएका व्यक्तिले याङ्गोको प्लेटफर्ममा युजर अकाउन्ट खोलेपछि इनोहभ सर्भिसेससँग सम्पर्क गरी कागजात र अनबोर्डिङ प्रक्रिया पूरा गर्नुपर्छ। त्यसपछि अग्रिम रकम नतिरी बाइक लिन सकिन्छ, र सम्झौताअनुसार तलब वा रेन्टल मोडलमध्ये एक रोज्न सकिनेछ। निश्चित सर्त पूरा गर्ने राइडरलाई खाने तथा बस्ने सुविधा पनि दिइने कम्पनीले जनाएको छ, तर ती सर्त सार्वजनिक गरिएको छैन।
यसैबीच असोजको अन्तिम साता एक साताव्यापी 'बाइक एक्सचेन्ज प्रोग्राम' आयोजना हुने भएको छ। कार्यक्रममा जुनसुकै ब्रान्डका पुराना मोटरसाइकल वा स्कुटर साटेर नयाँ सवारी खरिद गर्न सकिनेछ। याङ्गो राइडरका लागि तीन फाइनान्सिङ प्याकेज तोकिएका छन्: ४०% डाउनपेमेन्ट, ६० महिना र ८.९९% ब्याजदर; ५०% डाउनपेमेन्ट, ६० महिना र ६.९९% ब्याजदर; तथा ५०% डाउनपेमेन्ट, २४ महिना र ०% ब्याजदर। कार्यक्रमको मिति र स्थान चाँडै सार्वजनिक गरिने आयोजकले जनाएका छन्।
उपत्यकामा बाइक वा कारमार्फत आम्दानी गर्न चाहनेका लागि दर्ता प्रक्रिया निःशुल्क छ। इच्छुकले महाराजगञ्जको नारायणगोपाल चोकस्थित कार्यालयमा दैनिक बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सम्पर्क गर्न वा ह्वाट्सएपमार्फत जानकारी लिन सक्छन्। कम्पनीले आगामी दिनमा नेपालको राइड-सेयरिङ क्षेत्रमा थप परिष्कृत र नवीन सेवा ल्याउने प्रतिबद्धता जनाएको छ।
